रोजगारी गुमाएर फर्कनेलाई होटेल क्वारेन्टाइनमा झेल : सस्तो प्रस्ताव लत्याएर तारे होटेल प्राथमिकतामा

19 Jun, 2020

केदार दाहाल

 

सरकारले होटेलको क्वारेन्टाइन बनाउँदा सस्तो प्रस्तावलाई लत्याउँदै महँगा होटेल मात्रै छनोट गरेर रोजगारी गुमाएर फर्किएकालाई थप भार थोपर्ने काम गरेको छ । नि:शुल्क उद्धार गरेर स्वेदश ल्याउनुपर्ने नागरिकलाई दोब्बर भाडा असुल गर्न लागेको सरकारले होटेलको क्वारेन्टाइनमा समेत झेल गरेको छ ।

सरकारले विदेशबाट आउनेहरू आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्दै होटेललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । विदेशबाट फर्किएकालाई खर्च व्यवस्थापनमा सहयोग गर्नुको सट्टा महँगा होटेल मात्रै छनोट गरेको छ । रुम निःशुल्क र खानाको खर्च मात्रै दिएर होटेललाई क्वारेन्टाइन बनाउन गरेको प्रस्तावलाई लत्याउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारे होटेललाई मात्रै क्वारेन्टाइन बनाउन छनोट गरेको छ ।

विगतमा सरकारले गरेको प्रस्तावलाई तारे होटेलहरूको संस्था होटेल संघ नेपाल (हान)ले अस्वीकार गरेपछि साना तथा मझौला होटेल व्यवसायी महासंघलाई प्रस्ताव गरिएको थियो । ७७ वटै जिल्लामा सञ्जाल भएको महासंघले ए, बी र सी वर्गीकरण गरेर प्रस्ताव गरेको थियो । सोहीअनुसार महासंघले ए स्तरमा बढीमा दुई हजार, बी स्तरमा एक हजार पाँच सय र सी स्तरमा एक हजार दुई सय रुपैयाँमा ब्रेक फास्ट, लन्च र डिनर दिने प्रस्ताव गरेको थियो । तर, सरकारले सबैभन्दा सस्तो क्वारेन्टाइन तोकेको पर्यटकीय स्तरका होटेलमा एक्लैका लागि तीन हजार र दुईजनाका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।

‘तारे होटेलमा राखिएको भनेर आपत्ति होइन, पहिले हामीसँग प्रस्ताव मागेर उता सम्झौता गरिएको छ,’ महासंघका अध्यक्ष हिरा शाहले भने । सरकारले मागेपछि पहिलो चरणमा नौ सय १० वटा रुम उपलव्ध गराउने गरी प्रस्ताव पठाएको र डाक्टरहरूसमेत राख्न सुरु गरिएको थियो । ‘सरकारले हामीमाथि झेल ग¥यो, पहिले हामीलाई भनेर पछि हानसँग मात्रै सम्झौता गर्‍यो,’ शाहले भने ।

एक दिनको चारतारे होटेलमा प्रतिकोठा एकजनाका लागि आठ हजार र दुईजनाका लागि प्रतिव्यक्ति पाँच हजार पाँच सय रुपैयाँ छ । तीनतारे होटेलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र दुईजना बस्न चाहेनका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । दुईतारेमा एक्लै बस्न चाहनेका लागि पाँच हजार र दुईजनाका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

महासंघले ७७ वटै जिल्लाका ८० हजार होटेल क्वारेन्टाइन बनाउन सरकारलाई सहमति दिएको थियो । सरकारको आग्रहमा महासंघका सदस्य रहेका काठमाडौंमा २९ वटा होटेलमा ६ सय १० स्वास्थ्यकर्मीलाई एक साता राखिएको थियो । जसमा सबै डाक्टर तथा नर्सहरूलाई सिंगल कोठाको व्यवस्था गरिएको थियो । ‘हामीले दुई हजार रुपैयाँमा राखेका थियौँ, उद्धारको कुुरा आएपछि सरकारले खुसुक्क अन्तै सम्झौता गरेको थाहा पायौँ,’ अध्यक्ष शाहले भने । सरकारकै आग्रहमा एक लाख ६० हजार रुमको तयारीसमेत महासंघले गरेको थियो ।

कुन होटेलमा कति शुल्क ?

पर्यटन मन्त्रालयको सहमतिमा काठमाडौं जिल्ला प्रशासनले तत्कालका लागि ५४ वटा होटेललाई क्वारेन्टाइन बनाएको छ । चितवन, भैरहवा र पोखरामा दुई–दुई दर्जन होटेलहरूको सूची सम्बन्धित जिल्ला प्रशासनले सार्वजनिक गरेको छ । सबै पर्यटक स्तरका तारे होटेल हुन् । चारतारे एउटा, तीनतारे आठ, दुईतारे दुई, एकतारे पाँच र पर्यटकस्तरका ३९ वटा होटेल तोकिएको छ । जुन हानसँग आबद्ध मात्रै होटेल हुन् । ‘सरकारकै आग्रहमा सकेसम्म सस्तो शुल्कमा होटेलहरू उपलब्ध गराएका छौँ,’ होटेल संघ नेपाल (हान) महासचिव साजन शाक्यले भने ।

एक दिनको चारतारे होटेलमा प्रतिकोठा एकजनाका लागि आठ हजार र दुईजनाका लागि प्रतिव्यक्ति पाँच हजार पाँच सय रुपैयाँ छ । तीनतारे होटेलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र दुईजना बस्न चाहेनका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । दुईतारेमा एक्लै बस्न चाहनेका लागि पाँच हजार र दुईजनाका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

एकतारेमा एक्लै बस्न चाहनेका लागि चार हजार र दुईजना बस्दा प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तोकेको छ । यस्तै, पर्यटकीय स्तरका होटेलहरूको एक्लैका लागि तीन हजार र दुईजनाका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । ‘होटेलमा बस्नेले दिनको चारपटक पौष्टिकयुक्त खाना र खाजा पाउने तथा अहिले सार्वजनिक गरिएको मूल्यमा सेवा शुल्क र करसहित जोडेका छौँ,’ शाक्यले भने । हानले काठमाडौंमा मात्रै ६ हजार पाँच सय रुम र देशभर ६० हजार रुम उपलब्ध गराउन सक्ने बताउँदै आएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024