रोजगारदातासँग सम्झौता गर्दै सीटीईभीटी

5 February, 2020

काठमाडौं : ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)’ ले उद्योगी व्यावसायिक र रोजगारदातासँग औपचारिक सम्झौता गरेर जनशक्ति तयार गर्ने भएको छ। यसअघि आफूखुसी शैक्षिक कार्यक्रम बनाएर प्राविधिक जनशक्ति, उत्पादन गर्दा रोजगारी ग्यारेन्टीमा समस्या भएको र कतिपय अवस्थामा आधुनिक प्रविधिको सीप दिन नसकेको भन्दै यस्तो योजना अघि सारेको हो।

‘हामीले १५ दिनसम्म गियर चलाउन सिकाएका सवारीचालकलाई विदेशमा गियर बिनाका गाडी चलाउनुपर्दा समस्या भएको छ’, सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले भने, ‘विश्वव्यापी बसाइसराइले यस्ता धेरै जोखिम निम्त्याएको छ।’ त्यसकारण आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि तालिममा समायोजन गर्नुपर्ने आवश्यकता भएको उनले बताए।

स्वदेशी श्रम बजारमा पनि कस्तो जनशक्ति कति आवश्यक छ भन्ने माग प्रक्षेपण हुन सकेको छैन। त्यस्तो तथ्यांक अभाव हुँदा जनशक्ति उत्पादन र बजारको मागबीच तालमेल गर्न कठीन परेको भन्दै व्यावसायिक संघसंस्थासँग सहकार्य गर्न खोजेको वाग्लेले बताए। मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोजगारदातालाई समेटेर ‘जब फेयर’ सञ्चालन गर्ने घोषणा सीटीईभीटीले गरेको छ। यसका साथै श्रम बजारको मागअनुसार प्राविधिक जनशक्ति उत्पादन गर्न नयाँ पाठ्यक्रम निर्माण र परिमार्जन गर्ने वाग्लेले बताए।

औद्योगिक प्रशिक्षार्थी तालिमलाई नियमित सञ्चालन गर्न र प्रशिक्षक प्रशिक्षण बढाउने बताइएको छ। प्रमाणीकृत सीप परीक्षण केन्द्रबाट मात्रै सीप परीक्षण गर्ने व्यवस्था हुन लागेको छ। यसले सीप परीक्षणको विश्वसनीयता बढाउन सघाउ पुग्ने वाग्ले बताउँछन्।

विश्वविद्यालय शिक्षाको तुलनामा प्राविधिक शिक्षाको लागत बढी भएकाले यसलाई घटाउने योजना पनि सीटीईभीटीले अघि सारेको छ। यसका लागि अभ्यासको क्रममा उत्पादन भएका वस्तु र सेवालाई बिक्री गर्ने प्रबन्ध मिलाउने योजना अघि सारेको छ। त्यस्तै सरकारी परियोजना तथा कार्यक्रममा ‘अन द जब ट्रेनिङ’ सञ्चालन गर्ने वाग्लेले बताए। उनले कम्तीमा एक शिक्षालय, एक उत्पादनको रूपमा हरेक शिक्षालयमा उत्पादन एकाई स्थापना गर्ने बताए।

सीटीईभीटीले ब्रिटिस काउन्सीलद्वारा प्रवद्र्धित संस्था दक्षतासँग मिलेर ‘टिबेट पत्रकारिता पुरस्कार’ पनि स्थापना गरेको छ। मुलुकमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको प्रवद्र्धनमा योगदान गर्ने सञ्चारकर्मीलाई प्रोत्साहन गर्न यस्तो पुरस्कार स्थापना गरिएको कार्यक्रममा जानकारी दिइएको छ। जनकपुर, पोखरा र टीकापुरका पत्रकारलाई जनही १५ हजार र राष्ट्रिय सर्वोत्तम समाचारलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार स्थापना गरिएको कार्यक्रममा जानकारी दिइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024