रोकिएन मेनपावरको ठगी, नेपालमा एउटा काम भनेर साउदीमा अर्कै !

8 April, 2019

पर्साका अलि मूर्जुजा मिया गत फेब्रुअरी १९ मा साउदी अरब उडे। साउदी अरबको रेष्टुरेन्टमा क्यासियरको कामको लागि भनेर सामाखुसीको ‘ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालि’लाई १ लाख १५ हजार रुपैयाँ बुझाए।

 

मेनपावरले अलिलाई रेष्टुरेन्टमा क्यासियरको काम, तलब १ हजार ४ सय रियाल, खान बस्न सुविधा, ८ घण्टा काम बाँकी ओभर टाइम र हप्तामा एक दिन बिदा भनेको रहेछ। तर साउदी पुग्दा वास्तविकता अर्कै रहेछ।साउदी अरव पुगेपछि मेनपावरले भने जस्तो काम, पैसा, सेवा सुविधा केही नपाएको अलिको गुनासो छ। क्यासियरको काम गर्ने भनी गएका अलि त्यहाँ भाँडा माज्ने र रोटी पकाउने काम गर्दैआएका छन्।

 

अलिले सेतोपाटीसगँ भने, ‘१ लाख १५ हजार रुपैयाँ मेनपावरलाई बुझाएर क्यासियरको काम गर्ने सपना बोकेर आएको थिएँ। तर यहाँ भाँडा माज्ने र ५० डिग्रीको गर्मीमा तातो भट्टीमा रोटी पकाउने काम गरिरहेको छु। तलब पनि ८ सय रियाल मात्र छ। हप्ताको सातै दिन त्यो पनि १६ घण्टा काम गर्नुपरेको छ।’फोन गरेर मेनपावरमा पनि आफ्नो गुनासो सुनाएको र हारगुहार गर्न मान्छे पनि पठाएको अलिको भनाइ छ।

 

उनी भन्छन्, मैले मेनपावरमा फोन गरेर गुनासो सुनाउँदा मेनपावरले काम फेरिदिने आश्वासन दिए पनि अहिलेसम्म केही वास्ता गरेको छैन। गाउँबाट भाइलाई पनि काम फेरिदिन अनुरोधका लागि मेनपावर पठाएँ तर भाइलाई उल्टै थर्काएर पठायो।’मेनपावरले देखाएको यो व्यवहारले आफूले न्याय नपाउने डरले सताएको अलिले दु:खेसो गरे।उनलाई साउदी अरव पठाउने ट्रिपल स्टार इम्प्लोएमेन्ट प्रालिका झपेन्द्र बन्जारा भने मेनपावरको गल्ती नभएको र साउदीको कम्पनीले नै आफूसँग गद्दारी गरेको दाबी गरेका छन्।

 

आफ्नो गल्ती नभए पनि अलिको काम छिट्टै फेर्न पहल गरिरहेको उनले बताए। बन्जारा भन्छन्, ‘हामीलाई साउदीको कम्पनीले गद्दारी गरेको हो। हामी डेढ महिनाभित्र उनको काम परिर्वतन गर्छौं।’उनले अलिसँग १ लाख १५ हजार रुपैयाँ लिएको पनि अस्वीकार गरे।

 

‘हामीले उनीसँग त्यत्रो पैसा लिएका छैनौं। सरकारले तोकेको रकममा नै उनलाई पठाएका हौं,’ उनले भने। तर अलि भन्छन्, ‘मेनपावरले आफूबाट १ लाख १५ हजार रुपैयाँ नै लिएको हो।’ मेनपावरले यस्ता ठगी गरेको उजुरी आए विभागले तुरुन्तै कारवाही गर्ने वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंको भनाइ छ। ‘यस्तो अवस्थामा वैदेशिक रोजगारमा जाने युवाले वा उनको परिवारको सदस्यले उजुरी दिएमा हामी तुरुन्त कारवाही गर्छौं। उनले भने, ‘श्रम सम्झौता पनि झुक्काएर एयरपोर्टमा मात्र दिएको छ भने हामी उक्त मेन पावरलाई मौखिक रूपमा भन्छौं।’

 

यस्ता उजुरी दैनिक १० देखि १५ वटा सम्म आउने गरेको गुरागाईंंले जानकारी दिए। युवाहरूले वैदेशिक रोजगारीमा जाँदा मेनपावरले भने अनुसारको श्रम सम्झौता छ कि छैन, सरकारले तोकेको भन्दा धेरै रकम बुझाउनु परेको छ कि छैन आदि कुरामा ध्यान दिए यस्तो ठगी कम गर्न सकिने गुरागाईंको भनाइ छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024