राहदानी हराए सजिलै अर्को

13 September, 2016

विज्ञापन गर्न र प्रहरीकहाँ जान नपर्ने

फेला परेको प्रयोग गरे इन्टरपोलले समात्ने

 

चन्द्रशेखर अधिकारी

  

राहदानी हरायो? अब पत्रिकामा विज्ञापन छाप्न र प्रहरी रिेपोर्ट लिइरहनुपर्दैन। राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाका अनुसार अबदेखि सीधै विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा दूतावासमार्फत सहजै अर्को राहदानी लिन सकिनेछ।

 

त्यति मात्र होइन, हराएको राहदानीबारे अब इन्टरपोलले समेत रेकर्ड राख्नेछ। हराएको पासपोर्ट प्रयोग गरेमा उक्त व्यक्ति सहजै पक्राउ पर्नेछ। 

 

राहदानी हराएको विज्ञापन छपाएर जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई विभागले सोमबारदेखि हटाएको हो, जसले पीडित व्यक्तिलाई पुन: राहदानी लिन निकै सहज भएको छ। ‘विभागले एक महिनायता परीक्षणका रूपमा यो काम गरिरहेको थियो,’ थापाले भने। 

 

राहदानी विभागमा आएर राहदानी हराएको निवेदन दिनेबित्तिकै शाखाले त्यसको विवरण बुझ्ने र त्यहीबाट प्रहरीको इन्टरपोलमा सहकार्य गरी पुरानो राहदानी नम्बरलाई ‘इन्एक्टिभ’ गर्दै नयाँ नम्बर राखिनेछ। ‘जिल्लाबाट राहादानीको फारमसँगै हराएको निवेदन विभागमा आउँछ। निवेदन र भरेको नयाँ फारम अध्ययन गरी इन्टरपोलमा जानकारी दिँदै राहदानी बनाएर जिल्ला पठाइनेछ। त्यस्तै, प्रक्रिया दूतावासबाट पनि अघि बढ्नेछ,’ थापाले भने।

 

विभागको हराएको पासपोर्ट हेर्ने शाखाले निवेदनको डाटा चेक गर्नुका साथै तत्काल नेपाल प्रहरीको इन्टरपोलमा इमेल गर्नेछ। ‘प्रहरीले बढीमा ५ मिनेटभित्रमा रिप्लाई गर्ने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने। इन्टरपोलमार्फत सबै देशमा उक्त हराएको राहदानी नम्बर वाहकलाई अध्यागमनमा रोकिनेछ। मेसिन रिडेबल भएकाले बिना झन्झट तत्काल हराएको राहदानी बोक्ने व्यक्ति पक्राउ पर्नेछ। यसो गरेकै कारण गतसाता नेपालको विमानस्थलमा २० जना विदेशी नेपाली राहदानी बोकेकाले पक्राउ परेका थिए। यसअघि राहदानी हराए कुन क्षेत्रमा हराएको हो त्यो खुलाएर ‘क’ वर्गको राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नुपथ्र्याे। प्रकाशित सूचनाको पूरा पृष्ठसहित राहदानी हराउने व्यक्तिले उजुरी गरेपछि प्रहरीले रिपोर्ट तयार पाथ्र्यो। उक्त रिपोर्ट र सोही प्रकाशित विज्ञापनसहित विभागमा फारम भर्नुपर्ने हुन्थ्यो। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026