यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने खड्का र पोखरेल पक्राउ

15 April, 2025

काठमाडौं : वैदेशिक रोजगारीका लागि यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। ठगी गरेको आरोपमा इलामको चुलाचुली गाउँपालिका-३ घर भई काठमाडौं बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका-६ घर भएका काठमाडौं बस्ने २३ वर्षीय ईश्वर पोखरेललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जि.सी.ले जानकारी दिए।

उनका अनुसार खड्काले बेलायत पठाइदिने भन्दै २ जना पीडितसँग ३६ लाख रुपैयाँ र पोखरेलले १ जना पीडितसँग क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएपछि उजुरी परेको हो। त्यसपश्चात खड्कालाई ललितपुर र पोखरेललाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान र कारबाहीका लागि खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौं र पोखरेललाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024