कपिलवस्तुका विष्णुप्रसाद थारू एक वर्षअघि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगे । भिजिट भिसामार्फत दुबई पुगेका उनी वर्किङ भिसामा परिवर्तन गरी काम गर्ने तयारीमा थिए ।
तर, युएईले भिसा दिन बन्द गरेसँगै उनी समस्यामा परेका छन् । नेपालमा २३ र २४ भदौको जेनजी आन्दोलनपछि यूएईले १५ सेप्टेम्बरदेखि नेपालीलाई भिजिट भिसा दिन बन्द गरेको थियो । सोही दिनदेखि वर्किङ भिसामा समेत कडाइ गरेपछि उनी यतिबेला अलमलमा परेका हुन् ।
‘नेपालको जेनजी आन्दोलनपछि यूएईले भिसा दिन बन्द गर्यो । वर्किङ भिसा र भिजिट भिसा दिन बन्द गरेपछि धेरै अप्ठेरो भइरहेको छ,’ यूएईबाट अनलाइनखबरको सम्पर्कमा आएका थारूले भने, ‘भिसा नलागेपछि घर फर्किनुपर्ने अवस्थामा पुगेका छौं । धेरै गाह्रो भइरहेको छ ।’
थारू जस्तै अन्योलमा बाराका अर्मान अन्सारीको पनि छ । करिब ६ महिनाअघि यूएई पुगेका उनको समेत वर्किङ भिसा रोकिएको छ ।
‘नेपालमा भ्रष्टाचार विरुद्ध चलेको जेनजी आन्दोलन यूएईमा पनि पर्यो,’ उनी भन्छन्, ‘भिसा दिन बन्द गरेपछि समस्या भयो ।’
नेपालमा चलेको जेनजी आन्दोलनपछि जेल तोडेर १३ हजारभन्दा बढी कैन्दी बदी भागेका थिए । ती कैदीबन्दी यूएई आउन सक्ने र जसले सुरक्षा चुनौती बढ्ने भन्दै भिजिट भिसा पूर्णरूपमा बन्द गरिएको थियो भने वर्किङ भिसाका लागि समेत प्रहरी रिपोर्टका आधारमा मात्रै जान दिने गरिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ सचिव तथा आकृति रिक्रुटिङ प्रालिका सञ्चालक कुन्छादोर्जे डिम्दोङले भिसा जारी भइसकेकाहरू जान पाए पनि नयाँ जारी नभइरहेको बताए ।
उनका अनुसार केही दिनयता भिसा आइसकेकाहरू भने वर्किङ भिसामा जान पाइरहेका छन् । तर, नयाँका हकमा भने तत्काल प्रहरी रिपोर्टका आधारमा मात्रै जान पाउने व्यवस्था गरिएको छ ।
‘नेपालमा जेल तोडेर भागेकाहरू यूएई आउन सक्ने र त्यसलाई रोक्नका लागि केही दिनका लागि भिजिट भिसा बन्द गरेको यूएईका व्यवसायीहरूले हामीसँगको कुराकानीमा भनेका छन् । तर, यस विषयमा यूएईले आधिकारिक केही सूचना जारी गरेको छैन,’ डिम्दोङले भने ।
यूएईका व्यवसायीले नेपाली म्यानपावर व्यवसायीलाई पठाएको सन्देशमा ‘पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय प्राधिकरणले लेनदेन अस्वीकार गरेको, यस व्यक्तिका लागि भिसा जारी गर्न सकिँदैन’ उल्लेख गरिएको छ ।
भिसाका हकमा ‘यो व्यक्तिका लागि भिसा जारी गर्न सकिँदैन’ भनेर अस्वीकृत गर्दै आएको छ । पछिल्लो समय भिसा आवेदन दिएका सबैको अस्वीकृत भइरहेको डिम्दोङले बताए ।
नयाँ भिसा जारी नभए पनि यसअघि नै भिसा जारी भइसकेका हकमा भने जान पाइरहेका छन् । यूएईले सुरक्षा कारण देखाउँदै भिसा दिन बन्द गरेसँगै दैनिक ५ सयभन्दा बढी नेपाली यूएई जानबाट रोकिएका छन् ।
गत वर्ष सबैभन्दा बढी नेपाली यूएई नै गएका थिए । यो आर्थिक वर्षको दुई महिनामा मात्रै ५० हजार नेपाली रोजगारीका लागि यूएई गएका छन् । यूएईले ३० भदौदेखि भिसा दिन रोकेसँगै नेपालीहरू अन्य मुलुकको विकल्प खोज्न थालेका हुन् ।
भिजिट भिसामा कडाइ
निलकमल ग्रुप अफ कम्पनीका अध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव मेघनाथ भुर्तेलले भिजिट भिसा रोकेसँगै वर्किङ भिसामा समेत कडाइ गर्दा यूएई जाने तयारीमा रहेका श्रमिकहरू मर्कामा परेको बताए ।
‘अहिले सबै भिसा प्रोसेस होल्ड गरिएको छ । वर्किङ भिसा पाइसकेकालाई पनि प्रहरी क्लियरेन्स लिनुपर्ने सर्त राखिएको छ । यो अस्थायी कदम हो भन्ने बुझिएको छ,’ उनले भने, ‘तर, कतिसम्म जाने हो भन्ने कुरा अझै प्रष्ट छैन । जसले गर्दा नेपालबाट यूएई जाने तयारीमा रहेकाहरू समस्यामा परेका छन् ।’
यूएईले भिसा रोकेको विषयमा नेपाली म्यानपावर व्यवसायीहरूले उताका व्यवसायी तथा आफ्ना एजेन्टसँग जानकारी मागेका थिए । जसमा उनीहरूले सुरक्षा चिन्ता र भिजिट भिसामार्फत मानव बेचबिखनसँग सम्बन्धित विगतका समस्या समाधान गर्न यो कदम चालिएको जानकारी दिएका छन् ।
श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले यूएईको यस्तो नीतिले समस्या ल्याउने बताए । यूएईको यस्तो निर्णयले अस्थायी रूपमा असर गर्नेमात्र नभई नेपाली श्रमिकप्रति रहेको विश्वासमाथि समेत प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।
‘विश्व श्रम बजारमा नेपाली इमानदार र लगनशील भन्ने छाप थियो । तर, आफ्नै सम्पत्तिलाई निर्दयी रूपमा नष्ट गर्ने व्यवहार देखिँदा उल्टो छाप पर्न सक्ने खतरा छ,’ नेपालले भने ।
नेपालीको प्रमुख श्रम गन्तव्य बनिरहेको यूएई भिजिट भिसामार्फत समेत धेरैको केन्द्र बन्दै आएको छ ।
भिजिट भिसामार्फत दुबई जाने र त्यहाँबाट केही यूएईमै बस्ने र केही अन्यत्र जाने गरेका छन् । अन्य देशमा जानसमेत यूएईलाई ट्रान्जिट बनाउने गरेका छन् ।
नेपालीहरू भिजिट भिसामार्फत दुबई जान्छन् । त्यहाँ केही महिना बस्छन् । केही महिनापछि पोर्चुगल, पोल्यान्ड लगायत अन्य देशसमेत जाने गरेका छन् । त्यस्तै महिला भने दुबईबाट कुवेत, बहराइन, ओमान लगायत देशमा समेत घरेलु कामदारका रूपमा जाने गरेका छन् ।
दुबईमा नेपाली महिलालाई केही महिना राख्ने र त्यहाँबाट अन्य देशमा घरेलु श्रमिकका रूपमा बेच्ने गरेको पाइन्छ । नेपाल वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले केही समय अगाडि अनलाइनखबरसँग गरेको कुराकानीमा दुबईबाट महिलाहरूको मोलमोलाई भएर कुवेत, बहराइन, इराक लगायत देश पठाउने गरेको बताएका थिए ।
‘नेपालबाट भिजिट भिसामा लगेर दुबईमा राख्छन् । दुबईमा बन्द कोठामा राखेर अन्य देशका एजेन्टहरूले अनुहार हेरेर पैसाको मोलमोलाई हुन्छ,’ गोलेले भनेका थिए, ‘धेरै राम्री, भर्खरकी भयो भने उनीहरूको बढी पैसा तिर्छन् । अलि ठिकै कि भयो भने त्यही अनुसार पैसा तिरेर लैजान्छन् ।’