एकातिर प्रमाणपत्र हातमा बोकेर युवा विदेशिनु परेको छ, अर्कातिर उद्योगहरुले आवश्यक जनशक्ति नपाएको गुनासो गर्दै आएका छन् ।
यही विरोधाभास विराट एक्स्पोमा बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयक प्यानल छलफलको केन्द्रमा रह्यो।
मोरङ उद्योग व्यापार संघको आयोजनामा जारी एक्स्पोमा विभिन्न रोचक विषयहरुमा थिमेटिक सेसनहरु समेत भइरहेका छन्। यो सेसनमा उत्पादन र श्रम बजार बीचको दूरी कसरी घटाउने भन्ने प्रश्नमा सरोकारवालाहरूले आफ्ना अनुभव र चुनौती साझा गरे।
छलफलमा सहभागी उद्योगी, शिक्षण संस्था र सरकारी निकायका प्रतिनिधिहरूले साझा निष्कर्ष थियो, ‘प्रमाणपत्र मात्रै पर्याप्त छैन, व्यवहारिक सीप, कार्य संस्कार र प्रविधिमैत्री दक्षता आजको श्रम बजारको मुख्य आवश्यकता हो।’
सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गाप्रसाद ओझाले कक्षाकोठामै सीमित पढाइभन्दा ‘रियल वर्क’ मा आधारित सिकाइलाई जोड दिँदै उद्योगमै काम गरेर अध्ययन पूरा गर्ने मोडेल प्रभावकारी बन्दै गएको बताए। एचए, स्टाफ नर्स, सव–ओभरसियरदेखि होटल म्यानेजमेन्टसम्मका कार्यक्रमले मध्यम तहको प्राविधिक जनशक्ति आपूर्ति गरिरहेको उनको भनाइ थियो।
तर, उद्योग क्षेत्र भने अझै सन्तुष्ट छैन। मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा. बन्दना जैनले बजारमा सीपयुक्त जनशत्तिको अभाव गम्भीर बन्दै गएको उल्लेख गरिन्। ‘उद्योगले तालिम दिएर तलबसमेत दिँदा पनि सीप सिकेपछि काम छाड्ने प्रवृत्ति बढ्दो छ,’ उनको गुनासो थियो, ‘यो प्रवृत्तिका कारण उद्योगहरु भारतबाट जनशक्ति ल्याउन बाध्य भइरहेका छन्।’
ऊर्जा क्षेत्रको अनुभव पनि उस्तै छ । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठका अनुसार विद्युत उत्पादन, प्रसारण र वितरणमा ६० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति चाहिन्छ । तर, अटोमेसन र डिजिटल प्रणालीमा गएको प्राधिकरणलाई पुरानै सीप पर्याप्त नहुने अवस्था आएको छ । ‘अबको शिक्षा प्रणाली प्रविधिसँगै अपडेट हुनुपर्छ,’ उनको जोड थियो ।
प्रदेश सरकार भने सीपलाई रोजगारीसँग जोड्ने प्रयासमा रहेको बताउँछ। कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले तलबसहित सिकाइ र कामको मिश्रित मोडेलमा तीन वटा सीप परियोजना सञ्चालनमा रहेको जानकारी दिइन्। वैदेशिक रोजगारीमा जाने युवालाई पनि प्रमाणित सीपसहित पठाउने लक्ष्य रहेको उनको भनाइ थियो।
छलफलको अन्त्यतिर सगरमाथा ग्रामेन्ट्सकी ललिता श्रेष्ठको अनुभवले बहसलाई व्यवहारिक धरातलमा ल्यायो । हेल्परबाट सुरु गरेर सीप परीक्षणपछि सुपरभाइजर बनेकी उनले प्रमाणपत्रभन्दा पनि प्रमाणित सीप अनुसारको कामले जीवन परिवर्तन गर्ने अनुभव साटिन्।
सेसनको किनोट स्पिकरको रुपमा बोल्दै विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्योगको मागभन्दा अलग राखेर सञ्चालन गरिएका सीप तालिमले न रोजगारी सिर्जना गर्न सक्ने न युवालाई देशमै रोक्न सक्ने स्पष्ट पारे। ‘उद्योगले कामदार खोजिरहेको छ, युवा विदेश जान बाध्य छन्, यो सीप र श्रम बजार बीचको गहिरो असन्तुलन हो,’ उनले भने।