युरोप, कोरिया, जापानसहित खाडीमा रहेका नेपाली पनि स्वदेश फर्कन नपाउने

19 March, 2020

सरकारले कोरोना भाइरसको संक्रमण भित्रिनबाट रोक्न युरोप, खाडी राष्ट्र इरान र मलेसिया तथा दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोकेको छ।

मार्च २० अर्थात् शुक्रबार रातिदेखि यी देशबाट नेपालमा कुनै पनि उडान हुने छैनन्। ‘हामीले यी देशबाट उडान नगर्नु भनेको छैन। तर जब हामीले कोही पनि आउन नपाउने निर्णय गरेका छौँ भने यसको अर्थ ती मुलुकबाट उडान हुँदैनन् भन्ने हो’ पर्यटन मन्त्री योगेश भट्टराईले सेतोपाटीसँग भने।

त्यस्तै यी देशमा रहेका नेपाली नागरिक पनि अब फर्कन पाउने छैनन्। ती देशमा रहेका नेपालीहरु अन्य ट्रान्जिट बनाएर समेत नेपाल आउन पाउने छैनन्।

‘यो प्रतिबन्ध नेपालीहरुका लागि पनि हो’ उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेलले सेतोपाटीसँग भने, ‘हामीले उल्लेख गरेका मुलुकबाट कुनै पनि ट्रान्जिट प्रयोग गरेर नेपाल आउन पाइने छैन।’

पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ।

सरकारले ‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी मुलुकहरू, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १२ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ निर्णय गरेको हो।

‘हामीले यी देशबाट हुने उडान पनि प्रतिबन्ध लगाएका हौँ,’ पोखरेलले थप स्पष्ट पार्दै भने, ‘संक्रमण फैलन र प्रवेश गर्नै नदिन हामीले यो निर्णय गरेका हौँ।’

दक्षिण कोरिया, जापान, मलेसिया, युएई, कतारलगायतका मुलुकमा धेरै नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्।

अमेरिका, अष्ट्रेलियामा रहेका नेपाली सिंगापुर वा बैंकक ट्रान्जिट भएर आउन सक्नेछन्। सरकारले ती मुलुकबाट आउने नागरिकको हकमा कुनैपनि निर्णय गरेको छैन। तर युरोप र जापान, कोरियामा रहेका नेपाली आउन पाउँदैनन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024