युएईस्थित नेपाली दूतावासले भन्यो- कम्पनी छोडेर भागेपछि श्रम कानुनअनुसार कामदारमाथि ‘फरार मुद्दा’ लाग्छ

6 October, 2025

युएईस्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेको नेपाली कामदारमाथि ‘फरार मुद्दा’ लाग्ने बताएको छ। बुधबार विज्ञप्ति जारी गरेर दूतावासले श्रम कानुनअनुसार कामदारमाथि ‘फरार मुद्दा’ लाग्ने स्पष्ट पारेको हो।

‘उक्त फरार मुद्दा नहटाएसम्म नेपाल फर्कन सम्भव नहुने र त्यसको कुनै निर्धारित समय तोकिएको छैन। यो व्यक्तिको मुद्दाअनुसार फरक-फरक हुन्छ। एक हप्तादेखि पन्ध्रदिनसम्म र विशेष मुद्दामा एक महिनाभन्दा बढीसम्म लाग्ने अवस्था हुन्छ। कम्पनीको भिसा ‘एक्टिभ’ रहुन्जेलसम्म कुनै पनि व्यक्ति नेपाल फर्कन सक्दैन। दूतावासबाट ट्राभल डकुमेन्ट जारी गरिसकेपछि ‘आउटपास’ लिन सम्बन्धित व्यक्ति अध्यागमन कार्यालय गइ नियमानुसार लाग्ने शुल्क तिरेर प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,’ दूतावासले भनेको छ।

दूतावासले कृष्णबहादुर विक कम्पनीको सम्झौता बमोजिमको सेवासुविधा नपाएको सम्बन्धमा मिति २०८२/०६/०२ गते निवेदन दिन आएको जनाएको छ। त्यसपछि उनको समस्या सम्बोधन गर्न दूतावासका श्रम सहचारी पंकज लाभ कर्णले विकको कम्पनीमा तत्काल फोन गरी सम्झौता बमोजिम सुविधा उपलब्ध गराइदिन अनुरोध गरेको तर सेवाग्राहीले उक्त कम्पनीमा काम नगरी आफू जसरी पनि नेपाल जाने कुरा बताएको दूतावासले उल्लेख गरेको छ।

‘त्यसपछि श्रम सहचारीले कम्पनीलाई निजको राहदानी उपलब्ध गराइ नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा कम्पनीले निजको ‘भिसा क्यान्सलेसन प्रोसेस’ र राहदानी लिन कम्पनीमा बोलाउँदा निज सेवाग्राही जान इन्कार गरेको हुँदा निजलाई दूतावासमै लिन आउन अनुरोध गरेको तर कम्पनीको गाडी लिन आउँदा निज सेवाग्राही दूतावास परिसरबाट बाहिर निस्केको,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024