‘यत्ति भएपछि बाँचिन्छ’

5 April, 2020

हिक्मतबहादुर नेपाली 

दैलेख : ‘धेरै दिनदेखि चुल्हो बलेको थिएन, अब गएर पकाउँछु’, चामलको बोरा बोकेर वस्तीतर्फ लम्किएकी नारायण नगरपालिका –१ स्थित नमूना बादी बस्तीकी धनकला बादीले खुसी साटिन्। 

कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि ६३ बर्षीया धनकलाको घरमा एक छाक मात्रै खाना पाक्थ्यो। चामल, नुन, तेल सकिएको थियो। बादी सदरमुकाममा सामान लोड अनलोड गरेर जीविकोपार्जन गर्दै आएकी छिन्। वडा कार्यालयले राहत बाढ्न थालेपछि उनी मात्रै होइन, मजदूरी गरेर छाक टार्ने ११ वटै वडाका धेरैको मुहार उज्यालो भएको छ। 

मजदुरीबाट जीविका चलाउने स्थानीय दीपक बादी भन्छन् ‘लकडाउनपछि काम नपाएर बिजोग थियो, सरकारले खाद्यान्न दियो, अब भोकै बस्नु पर्दैन।’ नगरपालिकाले विपन्न घर परिवार पहिचान गरेर वडा कार्यालय मार्फत खाद्यान्न वितरण गर्न थालेको छ। वडा नं १ का एक सय ५९ परिवारलाई खाद्यान्न वितरण गरिएको वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए। 

राहत वितरण कार्यविधि पारित गरेर विपन्न परिवारलाई प्रतिपरिवार २५ केजी चालम, २ केजी दाल, एक लिटर तेल, दुई केजी नुन र दुई वटा साबुन वितरण गरिने मेयर रत्नबहादुर खड्काले बताए। नगरका ९ सय ५४ घरपरिवारलाई राहत प्रदान गरिने बताउँदै उनले भने, ‘राहत वितरण न्यायोेचित हुन्छ,’ मजदुरी गर्ने र अति विपन्न समुदायलाई वडा मार्फत राहत वितरण गरिनेछ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024