मेलाबाटै रोजगार !

11 June, 2018

सन्तोष यादव

बेरोजगारी समस्याले गर्दा युवा जनशक्ति बिदेसिने क्रम बढेको छ तर यहाँका उद्योग, कलकारखानामा भने सधैं मजदुर अभाव हुने गरेको छ। यही बेला श्रम कार्यालय जनकपुरको सहयोगमा घरेलु तथा साना उद्योग महासंघले प्रथम रोजगार मेला आयोजना गरेर बेरोजगार युवाको खोजी थालेको छ।

बेरोजगार युवालाई योग्यताका आधारमा यहाँकै उद्योग, कलकारखानामा रोजगार बनाउन तीनदिने मेला आयोजना गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष उमेश सिंहले बताए। उनका अनुसार सम्पर्कमा आउने युवालाई एक महिना निःशुल्क तालिम दिएर दक्ष बनाउने र त्यसपछि रोजगारी दिने योजना छ। ‘निःशुल्क तालिम दिने, तालिम अवधिभर खाजा खर्चबापत ५ हजार आर्थिक सहयोग गर्ने र योग्यता आधारमा सम्बन्धित निकायमा लगेर रोजगारी पनि दिन्छौं’, उनले भने।

 

उनका अनुसार इच्छुक युवाले रोजेअनुसार सीप सिक्न पाउँछन्। केही नजानेका तर पढे–लेखेका युवा आएर कम्प्युटर सिक्ने इच्छा जाहेर गरे कम्प्युटर सिकाएर रोजगारी दिइने उनको भनाइ छ। भने, ‘कोही मेकानिकल इन्जिनियर आए त्यो व्यक्तिलाई पनि रोजगारी दिन्छौं।’ मेकानिकल इन्जिनियर मात्र होइन, जुनसुकै तहका व्यक्तिलाई रोजगारी दिन उद्योगपतिसँग सहकार्य गरेको उनको भनाइ छ।

 

श्रम कार्यालयका कार्यकारी निर्देशक चूडामणि भट्टराईले रोजगारीका खोजीमा रहेका व्यक्ति र रोजगारदाताबीच समन्वय गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए। ‘रोजगारी खोज्ने र रोजगारदाताबीचको दूरी अहिले बढेको देखिन्छ’, उनले भने, ‘तर, पुलको काम गरेर त्यो दूरी अन्त्य गर्ने र युवालाई सहजै रोजगारी दिने उद्देश्य लिएर मेला आयोजना गरेका छौं।’

 

उद्योग वाणिज्य संघ जनकपुरका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले कामदार नपाएर यहाँका व्यापारीले ठूलो समस्या झेलिरहेको बताए। ‘यहाँका युवा खाडी मुलुक पुग्छन् तर यही कामका लागि भारतबाट मजदुर ल्याउने बाध्यता छ’, उनले भने, ‘कतिपय भारतीय मजदुर त रुपैयाँ लिएरै भाग्ने गरेका छन्।’ स्वदेशमै काम गर्ने वातावरण बनाउन रोजगार मेला आयोजना हुँदा खुसी लागेको उनले बताए।

 

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनारले प्रदेशका दक्ष जनशक्तिको व्यवस्थापन गर्न जरुरी भएको बताए। रोजगार मेला उद्घाटनपछि मन्त्री सोनारले दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसक्दा पनि विदेश पलायन हुने गरेको बताए। यहाँ खेती, जलविद्युत्, वनलगायत क्षेत्रमा सम्भावना हुँदाहुँदै जनशक्ति खाडी मुलुक पलायन हुँदा दुःख लाग्ने गरेको उनको भनाइ थियो। ‘यहाँ भारतको आन्ध्र प्रदेशबाट माछा आयात हुन्छ तर बारा, पर्सा, सिरहा, सप्तरीमा उपयुक्त वातावरण हुँदा पनि माछापालन गर्न मान्दैनन्’, उनले भने, ‘अब यहीं नै माछा उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउनुको विकल्प छैन।’

 

उनले दुई पैसा कम भए पनि विकासका लागि आफ्नै ठाउँमा काम गर्न युवासँग अपिल गरे। ‘केही नभएका देश आज समृद्ध भएका छन् तर सम्भावनै सम्भावना भएको हाम्रो देश पछि पर्दै गएको छ’, उनले भने, ‘देश समृद्ध बनाउन दक्ष जनशक्तिको महŒवपूर्ण भुमिका हुन्छ। त्यसैले यहाँका दक्ष जनशक्तिलाई स्वदेशमा व्यवस्थापन गर्नुपर्छ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026