‘मेडिकल अरेस्ट’ बाट फुत्किएर आइपुगे धर्मनाथ

15 October, 2018

उपचार खर्च तिर्न नसक्दा साउदी अरबको एक अस्पतालमा ‘मेडिकल अरेष्ट’ मा रहेका धनुषाका धर्मनाथ पासवान नेपाल फर्किएका छन् । झन्डै दूई लाख ५० हजार रियाल (करिब ७५ लाख रुपैयाँ) तीर्न बाँकी रहेका पासवान सोमबार काठमाडौं आइपुगेका हुन् ।

सडक दुर्घटनामा परी २०१७ को फेब्रुअरीमा अलहासास्थित किङ फाहद अस्पताल पुगेका पासवानलाई त्यसै वर्षको जुनमा अस्पतालले डिस्चार्ज गरेको थियो। तर, उपचार खर्च तिर्न नसकेपछि उनी अस्पतालमा बन्दीजस्तै बनेर बसेका थिए।

अस्पताल प्रशासनले रोकेर राखेका पासवानले बिहीबार भने आफूलाई कसैले नरोकेको बताए। ‘सायद कसैले पैसा तिरिदिएछ कि,’ मंगलबार काठमाडौंमा भेटिएका उनले भने। अस्पतालमा रहँदा उनले तिर्नुपर्ने रकम दैनिक ४ सय रियाल (१२ हजार रुपैयाँ)का दरले बढिरहेको थियो।

बाटो काटा सडक दुर्घटनामा परेका पासवानलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो। उनको टाउकोमा गम्भीर चोट लाग्नुको साथै ढाड, हात खुट्टा भाँचिएको थियो। ‘मेरो जिन्दगी त जोगियो। शरीर पुर्ववत अवस्थामा छैन,’ उनले भने।

उनलाई ठक्कर दिने गाडीको मालिकबाट उपचार खर्च भराउनु पर्नेमा गाडी पत्ता नलागेको भन्दै अस्पतालले उनलाई नै खर्च व्यहोर्न दबाद दिइरहेको थियो। ‘त्यत्रो पैसा तिर्ने मेरो हैसियतै थिएन,’ पासवानले भने। साउदीको कानुन अनुसार उपचार खर्च रोजगारदाताले बेहोर्नुपर्ने भए पनि उनको ‘स्पोन्सर’ले घटनाअघि नै अध्यागमनमा हुरुप लगाइदिइसकेको थियो। कुनै कामदार आफूसँग नभएको सूचना दिनुलाई हुरुप भनिन्छ। यसकारण रोजगारदाता खर्च बेहोर्ने दायीत्वबाट कानुनीरुपमा मुक्त भएको थियो। पासवान २०१४ मा साउदी पुगेका थिए।

रियादस्थित नेपाली दूतावासले उनको उपचार खर्च मिनाहा गरिदिन अस्पताल प्रशासनलाई अनुरोध गरेको थियो। दूतावासले परराष्ट्र मन्त्रालय हुँदै स्वास्थ्य मन्त्रालयमा समेत कुराकानी गरेको थियो। ती यी अनुरोधन स्विकृत भएका थिएनन्। साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपूतले पूर्वी क्षेत्र हेर्ने गर्भनरलाई भेटेरसमेत बिल मिनाहा गर्न आग्रह गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024