मेघालयको अवैध कोइलाखानीमा विस्फोट, १८ मजदुरको मृत्यु

6 February, 2026

Parbat Portel

भारतको मेघालय राज्यस्थित इस्ट जैन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ। घटनामा नेपाली समेत परेका छन्।

खानीभित्र अझै केही मजदुर फसेको आशंका गरिएको छ भने उद्धार कार्य जारी छ। स्थानीय प्रशासनका अनुसार बुधबार बिहान ‘र्‍याट–होल’ भनिने खतरनाक प्रविधिबाट सञ्चालन भइरहेको खानीमा अचानक विस्फोट भएको हो। विस्फोटका बेला खानीभित्र दर्जनौं मजदुर काम गरिरहेका थिए। विस्फोटपछि खानीभित्र धुवाँ, विषालु ग्यास र पानी भरिएकाले उद्धार कार्य कठिन बनेको जनाइएको छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी, राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का टोली घटनास्थलमा खटिएका छन्। अहिलेसम्म १८ जनाको शव निकालिएको छ भने केही मजदुर अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। एक जना मजदुर गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

मेघालयमा सर्वोच्च अदालतले ‘र्‍याट–होल’ खानी प्रणाली प्रतिबन्ध लगाए पनि दुर्गम क्षेत्रमा अवैध रूपमा खानी सञ्चालन हुने क्रम रोकिएको छैन। यसअघि पनि यस्ता खानी दुर्घटनामा कैयौँ मजदुरको ज्यान गएको छ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। केन्द्र तथा मेघालय सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन्।

राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ। अवैध खानी सञ्चालनमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिइएको छ। उद्धार कार्य नसकिँदासम्म घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024