भारतको मेघालयस्थित अवैध कोइलाखानीमा विस्फोट गराउने क्रममा आगलागीमा परी खोटाङका थप २ जनाको मृत्यु भएको छ ।
बराहपोखरी गाउँपालिका–१ भन्ज्याङका ३५ वर्षीय नरबहादुर मगरको उपचारको क्रममा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राईको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार मगरको उपचारको क्रममा मेघालयको राजधानी सिलोङस्थित अस्पतालमा मृत्यु भएको हो । रत्न राईको भने घटनास्थलमै मृत्यु भएको स्थानीय भोगिन्द्र राईले बताएका छन् । विस्फोटको बेला राई खानीभित्रै रहेकाले मृत्यु भएको जानकारी पाएपछि किराँत संस्कारअनुसार उनको छोराको मुन्डन समेत गरेको उनले बताए । ‘मृत्यु भएको भन्ने सूचना पाएपछि छोराको मुण्डन गरियो,’ राईले भने । रत्न राई ९ असोजमा मेघालय गएका थिए । उक्त घटनामा नेपाल, आसाम र मेघालयका गरी २७ जनाको मृत्यु भइसकेको छ । अन्य ९ जनाको उपचार भइरहेको छ ।
उक्त घटनामा यसअघि बराहपोखरी सालघारी भन्ज्याङका एउटै घरका दाजुभाइको मृत्यु भएको सार्वजनिक भएको थियो । गत बिहीबार बिहान करिब ११ बजेतिर भएको विस्फोटपछिको आगलागीमा परी बाराहपोखरी गाउँपालिका–१ सालघारी भञ्ज्याङ निवासी २७ वर्षीय पूर्णीराम मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकका आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार उक्त घटनामा बराहपोखरीस्थित भञ्ज्याङका ३५ वर्षीय नरबहादुरसहित ४० वर्षीय बमबहादुर मगर र ४५ वर्षीय कर्णबहादुर मगर घाइते भएका थिए । घटनामा उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन् ।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सातजनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । विस्फोटपछि ताराबलले नै फोनमार्फत आफन्तलाई घटनाका बारेमा जानकारी गराएका थिए । दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत ३ पुसमा घरबाट मेघालय गएको आफन्तले जनाएका छन् ।