मेक्सिकोबाट पर्खाल नाघ्ने वित्तिकै पक्राउ परेका थिए डिपोर्टमा परेका ५ नेपाली महिला

10 June, 2025

२६ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ५ जना नेपाली महिला पनि अवैध बाटोबाट अमेरिका गएको खुलेको छ । अमेरिकाबाट डिपोर्ट भएर आइतबार काठमाडौं आइपुगेका ३७ जनासँग मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले सोधपुछ गरेको थियो ।

त्यसक्रममा फिर्ता आएका महिलाहरुले आफूहरु अवैध बाटोबाट अमेरिका गएको खुलाएका थिए । तर, उनीहरुले अमेरिका पठाउने व्यक्तिहरुबारे भने सूचना दिएनन् । ‘केहीले पहिलो वा दोस्रो नाम मात्र भने पनि त्यो उल्लेखनीय थिएन’, एक अधिकारीले भने, ‘सामान्य सोधपुछपछि फेरि पछि कार्यालयमा उपस्थित हुन भन्दै छाडेका थियौं ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनीहरुले ६० लाख रुपैयाँदेखि माथि खर्च गरेर काठमाडौंबाट दुबई–ब्राजिल हुँदै मेक्सिकोसम्म गएका थिए ।

डंकी रुटबाट जाँदा महिलाहरुलाई बाटोमा दुर्व्यवहार हुने गरेको सुनेका अनुसन्धान अधिकारीहरुले त्यसबारे समेत सोधपुछ गरेका थिए । तर, उनीहरुले त्यस्तो केही नभएको बताएको स्रोत बताउँछ ।

डिपोर्ट भएर आएका महिलामध्ये ४ जना दाङ र १ जना म्याग्दीकी छन् । दुई जना २२/२३ वर्षको रहेको अधिकारीहरु बताउँछन् । ‘उहाँहरु अमेरिकी सीमासम्म पनि पुग्नु भएको रहेछ, तर मेक्सिकोको पर्खाल नाघ्ने वित्तिकै पक्राउ गर्नु भएको रहेछ’, ती अधिकारीले भने, ‘त्यसपछि केही समयसम्म कानुनी प्रक्रिया चल्यो, पछि उहाँहरु डिपोर्ट भएर आउनुभयो ।’

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ जना काठमाडौं आएका थिए । तीमध्ये एक जना डिभी परेर अमेरिका गएका व्यक्ति थिए भने अर्का विद्यार्थी भिसामा गएका युवक हुन् । दुवै जना काठमाडौंका स्थायीवासी हुन् ।

उनीहरुलाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो । ‘राति प्रहरीले उहाँहरुसँग सामान्य सोधपुछ गरेर प्रहरीले सबैलाई छाडेको छ’, रिजालले अनलाइनखबरसँग भने ।

प्रहरीले उनीहरुसँग अवैध बाटोबाट अमेरिका पठाउने मानिसहरुबारे जानकारी लिन खोजेको थियो । तर, उनीहरुले प्रहरीसँग त्यति समन्वय नगरेको अधिकारीहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् । उनीहरुले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । उनीसन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् । अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो ।

अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024