मृतक श्रमिकको परिवारलाई पाँच लाख सहयोग

29 July, 2025

भवन तथा बाटो निर्माणकर्मी संघले मृतक श्रमिकको परिवारलाई रु पाँच लाख सहयोग गरेको छ। संघले लामो समय निर्माण क्षेत्रमा काम गर्दै आएका तानसेनका स्व टोपबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहायता प्रदान गरेको हो।

निर्माणकर्मी टोपबहादुरको गत चैत २२ गते ५२ वर्षको उमेरमा क्यान्सर रोगका कारण मृत्यु भएको थियो। स्वाभाविक मृत्युबापतको राहत रकम संघका अध्यक्ष सुरेश कर्माचार्य, सचिव हुमराज बस्याल र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाका प्रबन्धक सन्तोष पौड्यालले संयुक्त रूपमा उनकी श्रीमती शोभा विकलाई हस्तान्तरण गरे।

संघका अध्यक्ष कर्माचार्यले दुख र पीडामा रहेको परिवारलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए। संघले निर्माणकर्मी, श्रमिक, मजदुरहरूका लागि औषधि उपचार, दुर्घटना उपचार, सुत्केरी अनुदान, बिमा, पारिवारिक काजक्रिया, श्रमिक छात्रवृत्ति, अस्पताल भर्ना तथा खाना, एकल महिला भत्ता, प्राथमिक दुर्घटना उपचार, वृद्धाभत्ता, स्वाभाविक मृत्युलगायतमा सहायता प्रदान गर्दै आएको छ। उनका अनुसार संघले हालसम्म यी क्षेत्रमा रु ८५ लाख ७३ हजार आर्थिक सहयोग गरिसकेको छ। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024