मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति

6 October, 2017

संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन् । 

आवुधावीस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारले पाएको क्षतिपूर्ति सम्बन्धितले पाउने गरी परराष्ट्र मन्त्रालय पठाइएको छ । परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति रकम वितरण गर्नेछ । क्षतिपूर्ति पाउनेमा पाँच वर्षअघि मृत्यु भएकासमेत रहेका छन् ।

 

क्षतिपूर्ति पाउनेमा सडक र कार्यस्थल दुर्घटनामा मृत्यु भएका कामदारका परिवार बढी छन् । हृदयाघात वा सुतेको सुत्यै हुने कामदारले क्षतिपूर्ति पाएका छैनन् । कामदारको २४ घण्टे बिमा नहुँदा कार्यस्थलभन्दा बाहिर मृत्यु भएका कामदारका परिवार क्षतिपूर्तिबाट वञ्चित छन् । ‘९१ जनामध्ये १७ जना मृतकका परिवारले बिमाको रकम अझै पाएका छैनन् । उनीहरूको मुद्दा अदालतमा चलिरहेको छ,’ दूतावासका प्रवक्ता कृष्ण अर्यालले कान्तिपुरलाई भने, ‘केही क्षतिपूर्ति कम्पनीले सजिलै दूतावासलाई बुझाएका छन् । केही अदालतमा मुद्दा लडेर पाएको हो ।’ 

 

क्षतिपूर्ति दिलाउन दूतावासले १४ हजार दिराम (४ लाख २० हजार) कानुनी सेवाको खर्च गरेको छ । यो मृतकले पाउने क्षतिपूर्तिबाट दिइएको हो । २ लाख दिरामसम्म क्षतिपूर्ति पाउनेमा उत्तमकुमार राई, मुरली खड्का, सुशीलप्रसाद मैनाली, लोकबहादुर धामी, देवेन्द्र खड्का, मुनामाया थापा, आशाराम चौधरीलगायतका परिवार छन् ।

 

तनहुँका पवन कुनार, स्याङ्जाका दुर्गा न्यौपाने, बर्दियाका राधेश्याम थारू, झापाका अनिल सुब्बा लिम्बू, मोरङका दिलीप चम्लागाईं, पाल्पाका माधव गैरे, पाल्पाकै तेजबहादुर दर्जी, इलामका प्रकाश गुरुङ, दाङका पुरणबहादुर मगर, मकवानपुरकी लक्ष्मीमाया श्रेष्ठ, नुवाकोटका वासुदेव लामिछाने, 

 

चितवनका कृष्णप्रसाद भुसाललगायत कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी अर्यालले दिए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026