मानव तस्करी- विदेशी गिरोह सक्रिय रहनु अझै खतरनाक

2 Dec, 2014

अन्तर्राष्ट्रिय श्रम बजारप्रति नेपालीहरूको मोह र बढी विश्वास नयाँ हैन। सीधा र वैधरूपमा भन्दा बढी अवैध रूपमा जानेहरूको भीड बढी छ। राज्यका निकायहरूको संवेदनहीनता, अक्षमता र त्यसमा व्याप्त भ्रष्टाचार एकातिर र अर्कोतिर निजी दलालीका सञ्जालहरूको सक्रियता अनि सरकारी अधिकारीहरूसँग उनीहरूको साँठगाँठका कारण समानान्तर च्यानलहरू फस्टाइरहेका छन्। श्रम बजारमा प्रवेश पाई ‘डलर’ कमाउने सपना बोकेकाहरूको ठगिने क्रम जारी छ। आधा करोडभन्दा बढी युवा पलायन, त्यसमध्ये अनेकौंको शोषण एकातिर र अर्कोतिर वर्षेनी चार लाखभन्दा बढी युवा पलायनको लर्कोले उनीहरूले नेपालमा आफ्नो भविष्य नदेखेको दु:खद र तीतो सन्देश दिएको छ। 

खासगरी महिलाका यौन तथा विविध प्रकारका शोषण, कैयन् युवाहरूले शारीरिक सबलता गुमाएको हैन, ‘कोमा’ या अचेत अवस्थामा मुग्लानमा रहनुपरेको र दैनिक सरदर चार लासहरू ‘बास्केट’मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्कने गरेको दु:खद यथार्थबाट कैयन् परिवार त्रस्त छन्। सरकारका लागि सामान्य श्रमिकहरू र उनीहरूको परिवारको यो नियतिले के अर्थ राख्छ भन्न सकिन्न, तर मुलुकको स्वाभिमानका लागि यो ठूलो धक्का हो। यो दु:खद नियतिमा अर्को खतरनाक आयाम थपिएको छ। त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहको कर्मभूमि बन्न थालेको केही प्रमाण फेला परेका छन्। 

आतंकवाद समाप्त गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा पटक पटक प्रतिबद्धता व्यक्त गरेको नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता किसिमका गतिविधि सञ्चालित हुनु उसको प्रतिबद्धता विपरीतका अपराध हुन्।

आतंकवाद समाप्त गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा पटकपटक प्रतिबद्धता व्यक्त गरेको नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता किसिमका गतिविधि सञ्चालित हुनु उसको प्रतिबद्धताविपरीतका अपराध हुन्। द्वन्द्वग्रस्त सिरियाबाट काठमाडौं अनि त्यहाँबाट बेलायत पुग्ने तस्करी मार्ग नेपाल बन्नु आफैंमा खतरनाक तथ्य हो। नक्कली राहदानीको प्रयोगबाट विदेशीहरू नेपाल छिरेका मात्र हैनन्, उनीहरूलाई सकुशल यहाँबाट तेस्रो मुलुक (बेलायत) पुर्‍याउन विदेशीहरूको सञ्जाल या गिरोह सक्रिय रहेको रहस्य खुल्नु अझै खतरनाक हो। 

२४ वर्षको अन्तरालमा नेपालमा दुइटा विमान अपहरण भएका छन् । सन् १९९९ डिसेम्बरमा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एअरलायन्सको अपहरणपछि नेपालको छविमा पुगेको क्षतिबाट मुलुक अझै पनि मुक्त हुन कठिन भइरहेको बेला विमानस्थलमा देखा परेको आपराधिक लापरबाहीलाई कडाइका साथ सम्बोधन नगरेमा त्यसले मुलुकलाई गम्भीर परिस्थितिमा धकेल्नेछ। सीसीटीभी लगायत उपकरणहरूको जडान, आवश्यक परे नेपाली सेनालाई विमानस्थलमा तैनाथी, अध्यागमन तथा सुरक्षासम्बन्धी लापरबाही र त्रुटिका लागि माथिल्लो तहलाई जवाफदेही बनाउने पद्धतिले यस्ता त्रुटिहरू निकै हदसम्म सम्बोधित हुनेछन्। साथै राजनीतिक तहबाट पनि केही इमानदार कार्य पद्धति प्रदर्शित हुनु आवश्यक छ। 

विमानस्थलमा खटाइने कर्मचारीहरू दक्षता र पात्रताका आधारमा हुने या सुनलगायत विभिन्न वस्तुहरूको तस्करीको फाइदा राजनीतिक तहसम्म पु:याउने उद्देश्यले भइरहने? राजनीतिक नेतृत्व तह, खासगरी गृह मन्त्रालय (र त्यसका मन्त्री) लाई यो प्रकरणमा जवाफदेहिताको घेरामा ल्याइनैपर्छ। अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा भइराखेका तस्करी श्रम बजारमा श्रम बेच्न जाने नेपालीको चाहनाभन्दा फरक र गम्भीर प्रकृतिको हो। कुनै रूपमा अन्तर्राष्ट्रिय आतंकवादी समूहको प्रवेश नेपालमा भएमा त्यसले पार्न सक्ने क्षतिबारे सरकार तत्काल गम्भीर हुन आवश्यक छ।  

व्याप्त अस्थिरता र अराजकताको स्थितिमा मुलुकमा अन्तर्राष्ट्रिय आतंकका लागि अनुकूल बन्दै छ भन्ने सन्देश नजाओस् भनी तत्काल सुनिश्चित गर्ने दायित्व सरकारको हो। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024