‘माझ्दै गरेको कचौरा फुटेपछि कामबाट निकालिदिए’

4 July, 2025

निर्मला घिमिरे

ललितपुरकी अनिता शाक्यले २०५२ सालमा एउटा काम सुरू गरेकी थिइन्।

मासिक तलब तीन हजार रूपैयाँमा जुम्ल्याहा बालबच्चाको हेरचाह गर्ने काम भनिएको थियो। तर बच्चाको हेरचाह र स्याहार–सुसारसँगै लुगा धुनुपर्थ्यो, भाँडा माझ्नुपर्थ्यो, घर सफा गर्नुपर्थ्यो। दैनिक आठ घन्टा भनिए पनि धेरैजसो १२ घन्टासम्म काम गर्नुपर्थ्यो।

‘बिहान १० बजेदेखि राति ९ बजेसम्म काम हुन्थ्यो। कहिलेकाहीँ घरबेटी राति बाहिर जाँदा दुई बजेसम्म बस्नुपर्थ्यो,’ उनले भनिन्।

राति धेरै ढिलो हुँदा घर भने पुर्‍याइदिन्थे।

उनले त्यो घरमा २६ वर्ष काम गरिन्। तलब वर्षमा पाँच सय रूपैयाँ बढ्थ्यो। २०७८ सालमा काम छाड्दा महिनाको १८ हजार रूपैयाँ पुगेको थियो।

अनिताका अनुसार त्यो घरका पुरूषले विदेशी महिलासँग बिहे गरेका थिए। ती महिलाको यहाँ काम सकिएपछि विदेश नै गइन्। बिस्तारै बालबच्चा पनि गए। महिलाले उतैबाट पारिश्रमिक पठाइरहेकी थिइन्।

‘म काम गर्दै थिएँ, ठिकै थियो,’ उनले भनिन्, ‘पछि घरबेटी (पुरूष) ले यौन सम्पर्कको प्रस्ताव गरे। कोही महिला खोजिदेऊ नत्र तिमी नै भए पनि हुन्छ भने। अनि भोलिदेखि आउँदिनँ भनेर काम छाडेँ।’

केही महिनाको तलब लिन बाँकी थियो। उनले त्यो पाउन हारगुहार गर्नुपर्‍यो।

‘२६ वर्ष काम गर्दा अरू सुविधा केही थिएन,’ ५७ वर्षीया अनिताले भनिन्।

अनिता सानैदेखि काम गरेर कमाउनुपर्ने बाध्यतामा थिइन्। अहिले पनि घर चलाउन उनैले कमाउनुपर्छ। उनका बुबा बितिसके, आमा वृद्ध छन्। भाइलाई मानसिक रोगको समस्या छ। बहिनीहरूको बिहे भइसक्यो।

जीवनभर काम गरे पनि अनिताको हात अहिलेसम्म रित्तै छ।

हाल एउटा बीमा कम्पनीको एजेन्टका रूपमा काम गरिरहेकी उनले भनिन्, ‘त्यतिका वर्ष अर्काको घरमा काम गर्दा पनि खानै मुस्किल भइरह्यो। अहिले पनि खासै कमाइ छैन। जे भए पनि सकुन्जेल गर्छु, आखिर सधैं रित्तै त हो।’

अर्की घरेलु श्रमिक पार्वती अधिकारीले पनि धेरै दुःख भोगेकी छन्।

उनी ललितपुरकै एक घरमा बिहान काम गर्थिन्। दिउँसो एउटा स्कुलमा आया थिइन्। उनका छोराछोरी त्यही स्कुलमा पढ्थे।

उनका अनुसार घरबेटीले दैनिक डेढ घन्टाको काम हो, भान्सा र पूजाका भाँडा सफा गर्ने भन्दै महिनाको १२ सय रूपैयाँ दिने भनेका थिए। काम गर्दै जाँदा कुरा फरक पर्‍यो।

‘धेरै काम रहेनछ भनेर सुरू गरिहालेँ। अलि पछि त ब्ल्यांकेट र कार्पेट पनि धुन लगाए। निकै दुःख दिए। तर आफूलाई समस्या परेको थियो, काम गरिरहेँ,’ उनले भनिन्।

त्यस बेला उनका छोराछोरी सानै थिए। डेरानजिकै भएकाले पनि उनले काम गरिरहिन् तर दुःख झन् बढ्दै गयो।

एक वर्षजति भएको थियो, एक दिन भाँडा माझ्दै गर्दा हातबाट खसेर एउटा कचौरा फुट्यो। त्यसपछि उनी कामबाट निकालिइन्।

‘घरबेटीले साह्रै नराम्रो गाली गरिन्। हप्काइन्। तँ आएदेखि यहाँ सह (शुभ) भएन, अहिल्यै गइहाल् भनिन्। अब घरको काम कहिल्यै गर्दिनँ भनेर रूँदै निस्केँ,’ पार्वतीले भनिन्।

त्यसपछि उनको काम स्कुलमा मात्रै भयो। छोराछोरीले एसइई दिएपछि उनले गार्मेन्टमा काम थालिन्। केही समयपछि आफूले काम गरेकै स्कुलको होस्टलमा खटिइन्। त्यही बीच केही समय एउटा रेस्टुरेन्टमा पनि काम गरिन्। तर कसैगरी उनको आर्थिक अवस्था बलियो भएन।

त्यसैले २०७१ सालदेखि अरूको घरमै काम थालिन्। अहिले दुई–तीन घरमा काम गरेर महिनामा आठ हजार रूपैयाँ कमाउँछिन्।

‘आफूले गर्न सक्दासम्म त ठीकै छ। बिरामी भएर बिदा बस्नुपर्‍यो भने पनि कामबाट निकाल्छन्। आफूले नसकेका दिन आफ्नै कोही साथीलाई पठाउनुपर्छ,’ ५६ वर्षीया पार्वतीले भनिन्, ‘यसरी कमाएको पैसाले दैनिक गुजारा मात्रै टर्छ। बिरामी भएर उपचार गर्नुपरेका दिन आपत पर्छ।’

रामेछापकी मखमली खड्का पनि घरेलु कामदार हुन्। उनले काम थालेको एक वर्ष मात्र भयो। छोरालाई पढाउने उद्देश्यले काठमाडौं आएकी उनीसँग कुनै खास कामको सीप छैन। पढाइ पनि छैन। श्रीमान गाउँमै घरखेत हेरचाह गरेर बसेका छन्।

दैनिक ६ घन्टा जति अर्काको घरमा काम गर्दा महिनामा साढे तीन हजार तलब पाउने उनले बताइन्। घरको काम सकेपछि सडक किनारामा मकै पोलेर बेच्छिन्।

‘कोठा भाडा ५५ सय रूपैयाँ छ। मकै पोल्न पनि डर छ, कुन बेला नगर प्रहरीले खोसिदिन्छ भन्ने थाहै हुँदैन। काठमाडौंमा काम गरेर खान पनि गाह्रो रहेछ,’ उनले भनिन्।

अनिता, पार्वती, मखमली जस्ता थुप्रै घरेलु श्रमिक नगन्य पारिश्रमिकमा काम गर्छन्। कतिपयले अपमान र हिंसा खेपेका छन्। बिरामी हुँदा रोजगारी गुम्छ। घरेलु श्रमिकका हकमा सामाजिक सुरक्षा, स्वास्थ्य उपचार, बीमा लगायत सुविधा छैन।

यस्तै समस्याका कारण काठमाडौं उपत्यकाका घरेलु श्रमिकले ‘घरेलु श्रमिक मञ्च’ नामको संगठन बनाएका छन्। यी संगठनमार्फत् आफ्नो हक–अधिकारका पक्षमा आवाज उठाउन थालेका छन्। मञ्चमा काठमाडौं, भक्तपुर र ललितपुरका कम्तीमा सात सय श्रमिक संगठित छन्।

मञ्चकी सचिव गोमा भण्डारीका अनुसार घरेलु श्रमिकको हकमा राज्यको ध्यान पुगेको छैन, कानुन पनि छैन।

‘हाम्रो राज्यले घरेलु श्रमिकलाई चिनेको छैन। सरकारले चिन्नुपर्‍यो, मान्यता दिनुपर्‍यो। सरकारले तोकेको न्यूनतम ज्याला पाउने व्यवस्था गर्नुपर्‍यो,’ उनले भनिन्, ‘काम गर्ने समय तोकेर, ओभर–टाइम कामको पैसा पाउने र सामाजिक सुरक्षा कोषमा पैसा जम्मा हुने व्यवस्था गर्नुपर्‍यो।’

घरेलु श्रमिकका लागि छुट्टै कानुन बनाएर हितरक्षा गर्नुपर्ने उनको माग छ।

‘दैनिक १०–१२ घन्टा खट्दा पनि सरकारले ८ घन्टाका लागि तोकेको न्यूनतम तलब पाउन सकेका छैनौं। पार्ट–टाइम काम गर्नेले अलिक राम्रो पाएको देखिन्छ। तर यस्ता श्रमिक थोरै छन्,’ गोमाले भनिन्, ‘दुई–चार जनाले राम्रो पाएर भएन। कानुन अनुसार सबैले सुविधा पाउने र भविष्यका लागि आर्थिक सुरक्षा हुने व्यवस्था गर्नुपर्‍यो।’

नेपालका घरेलु श्रमिकको हकहितमा काम गर्ने संस्था ‘युवालय’ ले सन् २०२३ मा गरेको एक अध्ययन प्रतिवेदनले घरेलु श्रमिकको अवस्था निकै दयनीय रहेको देखाएको छ। उनीहरूले निकै कम पारिश्रमिकमा काम गर्नुपरेको पनि देखाएको छ।

प्रतिवेदन अनुसार ४० प्रतिशत घरेलु श्रमिकले तीनदेखि पाँच हजार रूपैयाँ मासिक पारिश्रमिकमा काम गर्नुपरेको छ। दस हजार रूपैयाँभन्दा बढी पाउने श्रमिक ३० प्रतिशत हाराहारी मात्रै छन्। मासिक एक हजार रूपैयाँमा काम गर्ने पनि छन्।

सरकारले कृषि, यातायात, निर्माण जस्ता अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने घोषणा गरेको छ। यी श्रमिकलाई स्थानीय तहको सहयोगमा कोषमा समेट्ने भनिए पनि यसमा घरेलु श्रमिक अटाएका छैनन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने सरकारको नीति रहेकाले घरेलु श्रमिक पनि समेटिएको बताए। उनका अनुसार रोजगारदाताको समन्वयमा घरेलु कामदार कोषमा समेटिन सक्छन्। सरकारले बेलाबेला अनुगमन पनि गर्दै आएको छ।

सरकारले भने पनि व्यवहारमा घरेलु श्रमिक कोषमा नसमेटिएका मञ्चकी सचिव गोमाले बताइन्।

सरकारले घरेलु श्रमिकसम्बन्धी ‘आइएलओ महासन्धि १८९’ अनुमोदन गर्नुपर्ने आवाज पनि उठेको छ। उक्त महासन्धिले घरेलु श्रमिकको हकअधिकार सुनिश्चित गरेकाले त्यो अनुमोदन हुनुपर्ने सरोकारवालाहरूको माग छ।

संयुक्त राष्ट्रसंघले उक्त महासन्धि सन् २०११ मा पारित गरेको थियो। हालसम्म ३७ वटा मुलुकले अनुमोदन गरेका छन् जसमा एसियामा फिलिपिन्सले मात्रै अनुमोदन गरेको छ।

नेपालले पनि अनुमोदन गर्ने गरी प्रक्रिया अघि बढेको जनाइएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (अइएलओ) को एक रिपोर्टअनुसार घरेलु कामको क्षेत्रले श्रमशक्तिको ठूलो हिस्सा ओगटेको छ। संसारभर सात करोड हाराहारी घरेलु श्रमिक छन्। तीनमध्ये ८० प्रतिशत महिला छन्।

रिपोर्टले प्रत्येक २५ जना महिलामा एक जना घरेलु श्रमिक भएको देखाएको छ। धेरैजसो घरेलु श्रमिक गरिबीबाट पीडित र सामाजिक रूपमा पिछडिएको समुदायका हुन्छन्। नेपालमा कम्तीमा दुई लाख घरेलु श्रमिक छन्।

घरेलु श्रमिकहरू काम गर्ने ठाउँ सार्वजनिक आँखामा नहुने र सहकर्मी नहुने भएकाले अनेक जोखिमबाट गुज्रिनुपरेको छ। उनीहरू शारीरिक, यौन, मानसिक वा अन्य प्रकारका दुर्व्यवहार, उत्पीडन र हिंसाको सिकार हुने सम्भावना धेरै रहेको आइएलओको ठहर छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024