महिलालाई सीप सिकाएर निःशुल्क जोर्डन पठाउने

14 June, 2023

सीप सिकेका करिब ५ सय महिलालाई सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क जोर्डन पठाउने भएको छ। वैदेशिक रोजगार बोर्डले पाँच सय जना महिलालाई विभिन्न तालिम प्रदायक संस्थामार्फत निःशुल्क तालिम प्रदान गरेर पठाउन लागेको हो।

असारको पहिलो साताबाट काठमाडौंका विभिन्न ९ स्थानमा उक्त महिलाहरूलाई तालिम प्रदान गरिने बोर्डको शाखा अधिकृत नरबहादुर चन्दले जानकारी गराए। तालिममा सहभागी महिलाहरूलाई गार्मेन्ट मेसिन अप्रेटर तालिम दिइने चन्दले बताए। एक महिने यो तालिम लिएका महिलाहरूले सिलाइ–कटाइ कामका लागि कुनै शुल्क नतिरी जोर्डन जान पाउने जानकारी पनि बोर्डले दिएको छ। यो तालिम १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका महिलालाई दिइने भएको छ।

तालिम लिन प्रत्येक महिलाले राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले जनाएको छ। काठमाडौंको सितापाइलाबाट ६० जना, नख्खुबाट ६०, तीनकुनेबाट ६० सानेपाबाट ६०, पोखराबाट ६०, टोखाबाट ८०, चक्रपथ र गोंगबुबाट १ सय २० जना महिलाहरूलाई विभिन्न संस्थाद्वारा तालिम दिइने भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024