मलेसिया गएका खोटाङका मनोज निरौला ४ वर्षदेखि सम्पर्कविहीन

23 July, 2025

६ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका खोटाङका मनोज (रमेश) निरौला झन्डै चार वर्षदेखि सम्पर्कविहीन भएका छन् ।

रोजगारीको सिलसिलामा २६ फागुन २०६९ मा मलेसिया गएका निरौला १४ असोज २०७८ देखि सम्पर्कविहीन बनेका हुन् ।

खोटाङ बराहापोखरी गाउँपालिका–३ साविक साउनेचौर वडा नम्बर ७ घर भएका मनोजको खोजीका लागि मलेसियास्थित नेपाली दूतावासमा उनको परिवारले अनुरोध गरेको छ । तर, अहिलेसम्म केही जानकारी नआएको उनका दाजु लक्ष्मण निरौलाले जानकारी दिए ।

मनोजका बुबा गंगाप्रसाद निरौलाले दूतावासमा निवेदन दिँदै छोराको खोजी तथा नेपाल फर्काउन पहल गरिदिन अपिल गरेका हुन् । परिवारजनले मनोजको अवस्थाबारे अत्तोपत्तो नपाउँदा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

परिवारका अनुसार मनोजले सुरुवाती केही वर्ष घरमा फोन सम्पर्क गरिराखिरहेका थिए, तर पछिल्ला वर्षहरूमा उनी सम्पर्कविहीन हुन पुगेका हुन् । हालसम्म पनि कुनै जानकारी नआएपछि परिवारले सार्वजनिक रूपमा खोजी अपिल गरेको हो ।

उनका दाजु लक्ष्मणका अनुसार सम्पर्कविहीन हुनुअघि परिवारका सदस्यहरू, दाजुभाइ र बुबाआमा सबैसँग कुराकानी भइरहेको थियो । पछि बिस्तारै घरमा कम सम्पर्क गर्ने गरेको र पछि २/४ दिनको अन्तरालमा फोन गर्ने गरेको लक्ष्मणको भनाइ छ ।

मलेसियाको एक प्लास्टिक कम्पनीमा काम गर्न गएका थिए । पछि उनले त्यो कम्पनी छाडेका थिए । १० वर्षभन्दा बढी समयदेखि बसेपछि उनी कागजातविना नै मलेसियामा बस्दै आएका थिए ।

यो बीचमा खोजतलासका लागि विभिन्न संघसंस्था, दूतावास मार्फत समेत पहल गरेपछि पत्ता लाग्न नसकेको दाइ लक्ष्मणले बताए ।

‘हामीले सम्पर्कविहीन बनेपछि साथीभाइहरूसँग सोधपुछ गरेका थियौं । साथीहरूले उहाँले कम्पनी छाडेर गएको भन्नुभएको थियो । हामीले हाम्रातर्फबाट खोजीको पहल गर्दै आएकै हो,’ लक्ष्मणले भने ।

परिवारले नेपाली दूतावासमा पनि सम्पर्क गरी खोजीका लागि पहल गरेको थियो । तर, कम्पनी छाडिसकेको र लामो समयदेखि अवैध रूपमा बसेकाले खोजी कार्यमा कठिनाइ भइरहेको लक्ष्मणको भनाइ छ ।

लामो समयदेखि श्रीमान सम्पर्कविहीन बनेपछि श्रीमती घरपरिवारकै सल्लाहमा माइत गएर बस्न थालेकी थिइन् । त्यसपछि उतैबाट अर्को बिहे गरेर गएको लक्ष्मणको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024