मलेसियामा हराएका बमप्रसादलाई फेसबुकले घर फर्कायो

22 March, 2018

धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको ६ दिनमै बेपत्ता बनाइनुभएका ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर बुधबार राति नेपाल फर्काइएको हो । 

 

रोजगारीको सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गएको फागुन २३ गते मलेसिया पुग्नुभएका उहाँ फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता हुनुभएको थियो । मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा जानुभएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताउनुभयो । 

 

बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन बन्नुभएका उहाँलाई १६ घण्टापछि फेला पारिएको थियो । आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका वडा नं ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर उहाँको खोजी तीव्र पारेका थिए । 

 

खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्बिर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उहाँलाई भेटाउन सहज भएको थियो । मलेसियामा रहेको नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उहाँलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काउनुभएको हो । 

 

राईले मेनपावरलाई  ९० हजार बुझाए पनि मेनपावरले भने  २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको आफन्तले बताएका छन् । -रासस

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024