नेपाल र मलेसियाका सरकारी अधिकृतहरूबीच शुक्रबार श्रम सम्झौताको टुंगो लगाउन निर्णायक वार्ता हुँदै छ ।
मलेसिया श्रम सम्बन्धको विगत १७ वर्षे इतिहासमा दुई देशका अधिकृतबीच श्रम सम्झौताको मस्यौदामाथि निर्णायक छलफल हुन लागेको यो पहिलोपटक हो । श्रम सम्झौताका लागि नेपाल र मलेसियाबीच यसअघि तीन पटक अदानप्रदान भइसकेको उक्त प्रस्तावित मस्यौदामाथि पुत्राजयास्थित मानव संसाधन मन्त्रालयमा छलफल हुँदै छ ।
छलफलमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका दक्षिणपूर्वी एसिया महाशाखाका प्रमुख तापस अधिकारी, कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौतम, मलेसियास्थित कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल, द्वितीय सचीवहरू क्रमश: विनोद मुखिया, महेश्वरमणि त्रिपाठी र श्रमसहचारी सानमाया रम्तेलसहितको प्रतिनिधि सहभागी हुँदै छन् । उक्त प्रतिनिधिमण्डल र मलेसियाली मानव संसाधन मन्त्रालय एवं सम्बद्ध अधिकारीहरूबीच मस्यौदामाथि विस्तृत छलफल हुनेछ ।
मस्यौदामा उल्लेखित यसअघि सहमति हुन बाँकी रहेका विषयलाई टुंगो लगाई अन्तिम रूप दिन यो वार्ता हुन लागेको हो ।
अधिकारीहरूका अनुसार हाल प्रस्तावित मस्यौदामा कामदारमाथि पारिएको आर्थिक भार हटाउन र कामदार मलेसिया आउँदा लाग्ने हवाई टिकट, भिसा शुल्क र स्वास्थ्य परीक्षणलगायत खर्च व्यहोर्न मलेसियाली पक्ष तयार छ ।
कार्यवाहक राजदूत खरेलका अनुसार नेपालले प्रस्ताव गरेकामध्ये २४ सै घण्टा बिमाको सुविधा र कामदार मलेसिया आउँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्क रोजगारदाताले व्यहोर्नेलगायत कतिपय बुँदामा आज सहमति खोजिनेछ । ‘कामदार मलेसिया आउँदा लाग्ने आर्थिक भार हटाउने सन्दर्भमा उहाँहरू (मलेसियाली पक्ष) सहमत हुनुभएको छ ।’ खरेलले भने, ‘२४ सै घण्टा बिमा, सेवा शुल्कलगायतका केही विषयमा सहमति खाजिनेछ ।’
नेपालले यसअघि सन् २००९, २०१० र २०१३ मा पनि मलेसियालाई मस्यौदा प्रस्ताव पेस गरेको थियो । तर, ती प्रस्तावमाथि थप छलफल हुन नसक्दा श्रम सम्झौताको विषय अघि बढ्न सकेको थिएन । शुक्रबार हुने छलफलमा ती विषयहरूमाथि पनि टुंगो लगाउने र श्रम सम्झौताका लागि मितिसमेत तय गरी मस्यौदालाई अन्तिम रूप दिइने खरेलले बताए ।
श्रम सम्झौताको मिति टुंगो लागेपछि दुई देशबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर हुने बताइएको छ । मलेसियामा हाल करिब ५ लाखभन्दा बढी संख्यामा नेपाली कामदार कार्यरत छन् । यहाँ नेपालमा म्यानपावर कम्पनीद्वारा थमाइने सम्झौता पत्रअनुसारको काम र तलब सुविधा नपाएपछि एक कम्पनीबाट अर्को कम्पनीमा भाग्ने, गैरकानुनी बस्ने, अंगभंग हुँदा समयमै स्वास्थ्य उपचार एवं बिमा नपाउने र कतिपय रोजगारदाताबाटै ठगिने जस्ता समस्याहरू छन् ।