मलेसियाको जेलमा रहेका सोमकुमारको परिवार सम्पर्कमा

20 December, 2019

मलेसियाको अध्यागमनसँग सम्बन्धित जेल (लेङगेङ इमिग्रेसन डेटिन्सन सेन्टर) मा रहेका सोमकुमार तामाङको परिवार सम्पर्कमा आएका छन् । मलेसिया भ्रमण गएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल नेतृत्वको टोलीले उनलाई जेलमा फेला पारेको थियो ।

नेपाली भाषा बोल्न र बुझ्न नसक्ने भएकाले महानिर्देशक भुसालले सोमकुमारलाई स्वदेश फर्काउन पहिचानका लागि सहयोग गर्न आग्रह गरेका थिए । उदयपुर घर बताएका सोमकुमारबारे सञ्चारमाध्यममा पनि खबरहरु आएका थिए । बिहीबार विभागमा सोमकुमारकै भाइ राजकुमार तामाङ आएर आफूलाई भेटेको महानिर्देशक भुसालले बताए । ‘उनी पहिले परिवारको सम्पर्कमा रहेछन्, उनले उतै इन्डोनेसियन युवतिसँग बिहे गरेको परिवारलाई जानकारी रहेछ,’ भुसालले भने, ‘तर लामो समयसम्म सम्पर्क नभएपछि परिवारले माया मारेका रहेछन् । उहाँहरुले सोमकुमारलाई नेपाल फर्काउन आग्रह गर्नुभएको छ ।’

नेपाली बोल्न र बुझ्न नसके पनि सोमकुमार मलेसियन भाषा फरर बोल्छन् । तामाङले आफ्नो राष्ट्रियता नेपाली लेखाए पनि सँगै जेलमा बसेका नेपालीहरुले नै पत्याएका थिएनन् । नेपाली दूतावासकै अधिकारीलाई उनले ढाँटेको आशंका थियो । मलेसिया बसाईका क्रममा इन्डोनेशियन केटीसँग बिहे गरेका सोमकुमार जोहरबारुस्थित प्लाष्टिक कम्पनीमा काम गर्थे ।‘मलाई त्यो भेटमा उनी नेपाली नै हुन् कि भन्नेमा कता-कता विश्वास जाग्यो, सोमकुमार यति निरह र रित्तो देखेँ कि उनलाई आफू त्यहाँबाट निस्कन पाउँछु भन्ने कुनै आशा नै थिएन,’ भुसालले भने, ‘तर, अहिले उनकै भाइ दाजुलाई खोज्दै आएपछि खुसी लाग्यो ।’

सोमकुमार अवैधरुपमा मलेसियामा काम गर्ने क्रममा पक्राउ परेका हुन् । उनीसँग आफ्नो परिचय खुल्ने कुनै कागजात पनि छैन । न परिवारका सदस्यको नाम वा नेपालको ठेगाना थाहा छ । उनी तामाङ भाषा समेत बुझ्दैनन् । भिनाजु गंगावीर तामाङले १७ बर्षअघि आफूलाई मलेसिया ल्याएको मलेसियन भाषामा उनले बताएका छन् । उनका भनाइअनुसार भिनाजु बितिसके । सोमकुमारले साथीका रुपमा डम्बरबहादुर बस्नेतको नाम मात्र बताउन सकेका थिए ।

सोमकुमारले अर्काकै फोटो टाँसेर पासपोर्ट बनाएको बताएका छन् । विभागले सोमका भाइलाई उनको नागरिकताको प्रति र पासपोर्टको कागजात ल्याउन आग्रह गरेको छ । ‘पहिचान खुल्ने कागजात पाएपछि उनलाई फर्काउन हामीले प्रक्रिया थाल्न सक्छौं,’ महानिर्देशक भुसालले भने ।सोमकुमार उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी नगरपालिका वडा नं १३, बरबास) निवासी धनबहादुर तामाङका छोरा रहेको खुलेको छ ।

उनका भाइ राजकुमारले दिएको जानकारीअनुसार बाबु नेपाली सेनाबाट अवकाशप्राप्त व्यक्ति हुन् । ‘भाइका अनुसार सोमकुमारले भनेजस्तो रातारात घरबाट काठमाडौ आएर उडेका होइनन्, काठमाडौंमै ६ महिना बसेका हुन् ,’ भुसालले भने,’गएर आफू जाँदाको खर्चका अतिरिक्त पचास/साठी हजार रकम पनि पठाएछन् । फोन पनि गर्थे, पछि हराएछन् ।’

‘भाइ पोखराबाट विभागमा आएर सोमकुमारका अन्य तस्वीरहरु र उनकी श्रीमती तथा छोरीको समेत तस्वीर देखाएपछि उनको परिवारका सदस्य भएकोमा शंका रहेन,’ भुसाल भन्छन् ।वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अवैध रुपमा लुकेर बस्दा वर्षौंसम्म परिवारसँग सम्पर्कविहीन हुनु परेका घटनाहरु प्रशस्तै छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026