मलेसियाको कमाइ छोडेर कृषिमा सफलता : ‘लिङ्देन फार्म’को कथा

2 June, 2025

देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ,’ देउकुमार लिम्बुले विगत सम्झँदै मुस्कुराएर भने, ‘अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ।’

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको मायाले विदेशिनुपर्छ भन्ने छैन। भद्रपुर नगरपालिका–१ का उनले ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहेका छन्। तर, यहाँसम्म पुग्न उनको सङ्घर्ष लामो छ। २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया गएका उनले त्यहाँ १३ वर्ष बिताए।

विगत सम्झँदै उनले भने, ‘मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने। काम राम्रो पाइयो, तलब बढ्दै गयो। मासिक रु एक लाख २५ हजारसम्म कमाउँथेँ, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाए। तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ।’

मलेसियाबाट फर्किएपछि देउकुमारले तत्काल खेती सुरु गरेनन्। सुरुका दुई वर्ष देशमै के गर्न सकिन्छ ? सफल भएन भने पुनः विदेश जानुपर्ला कि ? भन्ने दोधारमै बिते। अन्ततः उनलाई लाग्यो, विदेशमा अरूको खेतमा काम गर्दा कमाइ भए पनि मन सन्तुष्ट हुँदैन। आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भन्ने सोचले उनले कृषि फार्म सुरु गर्ने अठोट लिए। ‘म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ,’ उनले भने, ‘त्यही सीप र अनुभवले यहाँ फार्म खोल्न सजिलो भयो।’

मलेसियाबाट ल्याएको थोरै पुँजीले देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गरे। सुरुमा सानो क्षेत्रमा तरकारी लगाएका उनको मेहनतले हाल चार बिघाभन्दा बढी क्षेत्रमा फार्म विस्तार भएको छ। फार्ममा करिब एक करोड रुपैयाँ लगानी छ। साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडी, केरा, सुपारी, बङ्गुर र माछापालन भइरहेको छ।

उनले बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिएका छन्। ‘बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ,’ उनले भने, ‘त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न व्यापारीको भीड लाग्छ।’

देउकुमारले रासायनिकभन्दा जैविक मल बढी प्रयोग गर्छन्। ‘जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन्,’ उनले भने। उनको सफलताको अर्को पाटो स्थानीय युवालाई रोजगारी दिनु हो। फार्ममा सात जना स्थानीयले नियमित रोजगारी पाएका छन्। सिजनमा २०–२२ जनाले काम पाउँछन्। ‘सिजनमा मजदुर पाउन गाह्रो हुन्छ,’ उनले भने, ‘मानिस विदेश जान चाहन्छन् तर देशमै सम्भावना देख्दैनन्।’

फार्म सञ्चालन खर्च कटाएर उनले वार्षिक १८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। ‘मेहनत गरे आम्दानी राम्रो हुन्छ,’ उनले भने, ‘मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ।’ मलेसियामा उनले अरूको लागि मेहनत गरे। अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उनको बुझाइ छ।

देउकुमारको विचारमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन्। ‘मुख्य चुनौती खुला सीमानाले भारतबाट सस्तो तरकारी भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो,’ उनले भने। सरकारले नेपाली तरकारीलाई प्राथमिकता दिने वातावरण बनाइदिए सहजै प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ छ।

कृषकलाई दिइने सरकारी अनुदानबारे उनले भने, ‘कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही प्रयोग गर्दैनन्, नियमनको अभाव छ,’ उनले भने, ‘वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ।’

देउकुमारले युवालाई आग्रह गरे, ‘देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस्, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ सम्मानजनक आम्दानी सम्भव छ।’ दीपक चन्द/रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024