मलेसियाका पेट्रोल पम्पमा विदेशी कामदारलाई अनुमति

28 November, 2024

मलेसियाका पेट्रोल पम्प सञ्चालकले अबदेखि विदेशी श्रमिक राख्न पाउने भएका छन् । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मलेसियाको गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलको निर्णयसँगै पेट्रोल पम्पमा सञ्चालन हुने क्याफे तथा खाद्य पसलमा सरसफाइ तथा मर्मतका लागि विदेशी श्रमिक राख्न पाउने भएका हुन् । 

सन् १९९५ मा मलेसिया सरकारले मलेसियाका पेट्रोल स्टेसनमा विदेशी श्रमिकलाई काममा राख्न निषेध गरेको थियो । पेट्रोल स्टेसनले प्राविधिक जनशक्तिलाई आकर्षक तलब दिने गरेका छन् । यसको काममा दक्ष श्रमिकको आवश्यक हुन्छ । यस्ता काममा मासिक न्यूनतम दुई हजार ३१० रिँगेट वा नेपाली ७० हजार रुपियाँ हुन्छ । 

मलेसिया सरकारले पेट्रोल स्टेसनमा काम गर्ने विदेशी श्रमिकलाई सप्लाइ कम्पनीले नभई पेट्रोल स्टेसनहरूले स्वयम्ले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ । पेट्रोल स्टेसनका सञ्चालकले स्थानीयलाई नै काममा लगाउन खोजेका थिए तर काम छाडेर पेट्रोल स्टेसनमा काम गर्न धेरैले रुचि नदेखाएपछि समस्या आएको थियो । वैदेशिक रोजगार विभागका अनुसार करिब चार लाख नेपाली मलेसियामा हाल कार्यरत रहेका छन् । 

दूतावासका अनुसार श्रमिकको अभावमा सामान्यतया २४ घण्टा चल्ने पेट्रोल स्टेसनहरूले एक चौथाइ समय कटाएर प्रतिदिन १८ घण्टा चलाउँदा राजस्वमा समेत असर गरेपछि सरकारले करिब ३० वर्ष पुरानो निर्णय परिवर्तन गरेको हो ।  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024