फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा गाउँसहर सबैतिर चुनावी चहलपहल बढ्न थालेको छ ।
प्रायः सुनसान रहने दुर्गम गाउँबस्तीतिर घरदैलो गरिरहेका उम्मेदवारहरु मतदाता रिझाउन जुटेका छन् । तर यता पश्चिम तराईका सीमा नाकामा भने कामको खोजीमा भारत पस्दै गरेकाहरु गन्तव्यमा पुग्न हतारिरहेका देखिन्छन् ।
यतिबेला चुनावको मुखैमा भारत पसेकाहरु मतदानका लागि घर फर्कने टुंगो छैन । भारतमा पटके मजदुरी गरेको कमाइले घरखर्च धान्नेहरु भने चुनाव नजिकिँदै जाँदा दोसाँधमा परेको पीडा पोख्छन् । उनीहरु घरको आर्थिक अवस्थाकै कारण वर्सेनि रोजगारीका लागि भारत जानैपर्ने अवस्था भएको दुखेसो पोख्ने गर्छन् ।
‘भोट हालेर जान पाएको भए हुन्थ्यो भन्ने त लाग्छ, तर साथीभाई सबै जाने लागे,’ कामको खोजीमा ६ जना युवाको टोलीसँगै भारत हिमाञ्चल प्रदेशको मण्डी गइरहेका बर्दिया गेरुवा गाउँपालिकाका सुशील चौधरीले भने, ‘घरमा खेतीपातीको काम त थियो । तोरी उखेल्न र मकै छर्न बाँकी छ । तर यतिबेला नपुगे काम नपाउने पनि समस्या हुन्छ ।’ उनीहरुको समूह पुस तेस्रो साता माघी पर्व मनाउन घर फर्केको हो । ‘माघी सकिएको पनि धेरै भइसक्यो, अब चुनावको भन्दा कमाइको चिन्ता भयो,’ उनले भने ।
कञ्चनपुरको गड्डाचौकी नाकामा भटिएका सुशीलको समूह हिमाञ्चलको मण्डीमा पुल निर्माणमा दैनिक ज्यालादारी गरिरहेका थिए । सोही समूहमा रहेका २६ वर्षीय सुभाष चौधरी भन्छन्, ‘हाम्रै वडाको ढुकनिया र शान्तिपुरका डेढ सय जना बढी उतै मण्डीमा छन्, हामी मात्रै माघीमा घर आएका हौं ।’ उनका अनुसार पुल निर्माणमा मजदुरी गरिरहेका उनीहरुले दैनिक कम्तीमा ५ सय देखि ७ सय भारु ज्याला पाउँछन् । उनीहरु अब धान रोप्ने बेला घर फर्कने गरी हिमाञ्चल हिँडेका हुन् ।
चुनावका बखत आफ्नै गाउँठाउँमा बसेर भोट हाल्ने मन भए पनि बाध्यताले भारत जानुपर्ने अवस्था भएको बर्दिया गेरुवा–४ कै सोहनलाल चौधरी बताउँछन् । ‘नेता ठीक भएनन्, खोइ अहिलसम्म केही गरेनन्’ उनले भने, ‘जनताका लागि कम्तीमा आफ्नै देशमा रोजगारी पाउने व्यवस्था मात्र गरिदिए खाडी र भारत पस्नु पर्ने थिएन ।’ उनले परदेशमा निकै हप्कीदप्की सहेर काम गर्नुपर्ने अवस्था भएर पनि घरखर्च जुटाउनकै लागि भारत पस्नु परेको बताए ।
केही महिनयता कैलाली र कञ्चनपुको सीमा नाकामा सशस्त्र प्रहरीले भारत तर्फ जाउजाउ गर्नेहरुमध्ये रोजगारीका लागि लामो दुरीमा जाने कामदारको विवरण राख्ने गरेको छ । गड्डाचौकी नाकामा रहेको सशस्त्र प्रहरी चेकपोष्टको रेकर्ड अनुसार यो साता मात्रै कामको खोजीमा दैनिक १ सय ३० देखि १ सय ६० सम्म नेपाली कामका लागि भारतका विभिन्न सहर पसिरहेका छन् । अधिकांश दिल्ली, पञ्जाव, बैग्लौर, मुम्बइ, हिमाञ्चल र उत्तराखण्डका सहरतिर गइरहेका छन् । तीमध्ये धेरैजसो केही महिनाको पटके कामका लागि गइरहेका हुन् ।
कैलालीको त्रिनगर नाका भएर रोजगारी खोज्दै भारत पस्नेहरुको संख्या गड्डाचौकीको भन्दा बढी छ ।
त्रिनगरस्थित सशस्त्र प्रहरी चेक पोष्टका अनुसार गौरीफन्टा नाका भएर दैनिक ३/४ सय नेपाली कामको खोजीमा भारत पसिरहेका छन् । पोष्टमा तैनाथ सशस्त्रका एक जुनियर अधिकारीका अनुसार धनगढीबाट दिनहुँ सीमापारि आउजाउ गर्नेको संख्या त २ हजार बढी नै हुन्छ, तर तीमध्ये अधिाकंश किनमेल, उपचारका लागि जाने गरेका छन् । रोजगारीकै लागि जाने बढीमा दैनिक ५ सय जनासम्म हुने गरेको ती प्रहरीले सुनाए ।
पछिल्ला वर्षमा कामको खोजीमा भारत जाने युवाको संख्या बढ्दै गएको गौरीफन्टा नाकानजिक रहेको शान्ति पुनर्स्थापना गृहकी परामर्शदाता दिपा बिष्टले बताइन् । उनका अनुसार पुरुषसँगै उनीहरुका छिमेकी र आफन्त नाता पर्ने महिला पनि भारत गइरहेका छन् । ‘रोकेर सोधपुछ गर्दा उतै कामकाज गर्ने बताउँछन्, कतिपयले नातेदारले बोलाएको भन्छन्, धेरै युवायुवती भारतका ठूला सहरतिर गइरहेका हुन्छन्,’ उनले भनिन्।
गएको बिहीबार त्रिनगर (गौरीफन्टा) हुँदै बैग्लौर गइरहेका कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरका हिमाल विकलाई पनि चुनावको भन्दा कामको चिन्ता देखिन्थ्यो । उनको साथमा गाउँकै नातेदार एक किशोरी पनि भारत गइरहेकी थिइन् । हिमाललाई पनि गड्डाचौकी नाकामा भेटिएका चौधरी युवाहरु जस्तै भारत पस्ने हतारो थियो ।