मतदानका मुखमा भारततिर लर्को

23 November, 2017

 ठाकुरसिंह थारू, कृष्णप्रसाद गौतम

 

कालिकोट, धाउलाका धनबहादुर रोकाय बुधबार नेपालगन्ज सीमा हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे । उनीसँगै गाउँका ६ युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन् । उनीहरूलाई चुनावी माहोलले छोएको छैन । प्रदेश ६ अन्तर्गतको कालिकोटमा पहिलो चरणअन्तर्गत मंसिर १० मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । 

 

भोटभन्दा परिवारमा रोजीरोटी जुटाउन घर छाडेर भारत हिँडेको उनीहरूले बताए । यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारी समस्या समाधान नभएको उनीहरूको गुनासो छ । ‘भोट हालेर के हुन्छ र ?’ निर्वाचनको पूर्वसन्ध्यामा नेपाल–भारत सीमा जमुनाहामा भेटिएका रोकायले उल्टै प्रश्न गरे, ‘पहिलेको चुनावमा भोट हालेकै हो । नेताहरूले हाम्रा लागि केही गर्ने होइनन्, जितेकाले रोजगारी दिएको भए किन भारत जानुपथ्र्यो ?’ राजनीतिक दलहरूले मतदातामाझ गाउँ विकास र युवा स्वरोजगारको चुनावी आश्वासन बाँडिरहेका बेला प्रदेश ५ र ६ का कतिपय युवा धमाधम कामको खोजीमा भारत पस्न थालेका हुन् । मंगलबार मात्र नेपालगन्ज नाका हुँदै ४ सय ६२ युवा भारत छिरेको सीमास्थित एक संस्थाको तथ्यांक छ । बुधबार पनि ४ सय युवा भारत गएका छन् । राजनीतिप्रति नै विरक्तिएका उनीहरूको साझा चिन्ता छ, ‘नेताले गाउँघरको विकास गरेनन्, रोजगारी दिएनन् ।’

 

निर्वाचनको मुखमा घर छाड्नेहरूमा ६ नम्बर प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुमका युवा बढी छन् । त्यस्तै, ५ नम्बर प्रदेशका बर्दिया, बाँकेलगायत जिल्लाबाट पनि थुपै्र युवा काम खोज्न भारत पसिरहेका छन् । उनीहरूमध्ये अधिकांशले भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पन्जाबलगायत सहरमा काम गर्ने बताएका छन् । बढीजसो मध्यपश्चिम क्षेत्रका सर्वसाधारण कालापहाड, चण्डीगढ, सिमला जाने गर्छन् । उनीहरू त्यहाँ सडक निर्माण र फलफूल खेतीका लागि मजदुरी गर्छन् ।

 

‘नेताहरू चुनावका बेला रोजगार दिन्छु भन्छन् । गाउँको विकास गर्ने आश्वासन दिन्छन् । तर जितिसकेपछि हाम्रा लागि केही गर्दैनन्,’ भारत जाँदै गरेका सल्यान शारदा नगरपालिका–७ का नन्दवीर कामी भन्छन्, ‘त्यसैले यो निर्वाचनमा भोट नहाल्ने निर्णय गरेर भारत जाँदै छौं । तीन/चार महिना काम गरेर घर फर्किन्छौं ।’ 

 

नेपाल–भारत सीमास्थित इलाका प्रहरी, जमुनाहाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा दैनिक ३ देखि साढे ३ सय युवा रोजगारीका लागि भारत जाने गरेका छन् । ‘निर्वाचनको मुखमा भारत जाने नेपाली उल्लेख्य छन् । उनीहरूमा निर्वाचनप्रति कुनै मोह देखिँदैन,’ इलाका प्रहरी प्रमुख सई सुधीर खड्का भन्छन्, ‘भोट हाल्न छाडेर किन भारत जान थालेको भनेर सोध्दा भोट हालेर के पाइन्छ भन्ने जवाफ दिन्छन् ।’ 

 

चुनावले खानलाउन नदिने उनीहरूको भनाइ छ । ‘कमाउन भारत नजाने हो भने परिवार पाल्न सकिँदैन । हाम्रो समस्या नेताले बुझ्दैनन्,’ सुर्खेत खलंगाका सुजन विक भन्छन्, ‘गाउँमै रोजगारी हुने हो भने भारत जाने रहर कसैलाई छैन ।’ भारत जानेमध्ये आर्थिक अवस्था कमजोर भएका सुर्खेत, जाजरकोट, रुकुम, प्यूठान, दैलेख, सल्यानका बढी हुने गरेका छन् । बाँके र बर्दियाका सर्वसाधारण पनि खेती सकेपछि काम गर्न भारत जाने गरेका छन् । 

 

पहाडी तथा हिमाली जिल्लामा मतदानको मिति नजिकिँदै गए पनि दसैं, तिहारलगायत चाडपर्वका लागि घर फर्किएकाहरू धमाधम भारततर्फ लागिरहेका छन् । रूपैडिहा नाकामा पनि भारत छिर्ने युवाको भीड बढदै गएको छ । यस नाकाबाट प्रदेश ६ का सबैजसो जिल्ला तथा प्रदेश ५ का दाङ, बर्दिया, बाँके, प्यूठान र रोल्पाका युवा भारत पस्ने गरेका छन् । मजदुरी गर्न भारत जानेका लागि यो उपयुक्त समय हो । अहिले भारत पसेकाहरू कोही चैत र वैशाखतिर अन्नबाली भित्र्याउन आउँछन् भने कतिपय दसैंतिहारमा । बर्खे बाली भित्र्याइसकेको र चाडपर्व मनाइसकेकाले उनीहरू मजदुरीका लागि निस्केका हुन् । चुनाव आए पनि आफूहरूलाई ठेकेदारले बोलाएकाले जान लागेको महाबु गाउँपालिका ६ दैलेखका १९ वर्षीय कमल सिंहले बताए । उनी गत वर्षदेखि मजदुरीका लागि भारत जान थालेका हुन् । ‘मतदाता नामावलीमा नाम छ तर भारतमा काम पाइने मौसम यही भएकाले जान थालेको,’ उनले भने, ‘हामीजस्ता गरिबलाई चुनाव आए पनि नआए पनि मजदुरीका लागि जानैपर्ने बाध्यता छ ।’ उनीसँगै सिमलामा काम गर्न जाने ९ जनाको समूह बुधबार भारत पसेको छ । सल्यान, कुपिन्डे वनगाड नगरपालिका–४ का २९ वर्षीय जीवन केसीले चुनावका बेला ‘सबै पुर्‍याउँछौं’ भन्ने नेताले जितेर गएपछि फर्केर नहेर्ने गरेकाले भारतमा मजदुरी गर्न जानेका लागि निर्वाचन महत्त्वको विषय नभएको बताए । स्नातक उत्तीर्ण उनी कालापहाडमा घर निर्माणमा संलग्न एक कम्पनीको सुपरभाइजर पदमा तीन वर्षदेखि कार्यरत छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026