मजदुरको माग : कि राहत देऊ, कि रोजगारी

4 July, 2020

शम्भु यादव

 

सिरहा : शुक्रबार सिरहाको लहान बजारमा अटोरिक्सा, टेम्पो चालक मजदुरले राहत र रोजगारीको माग गर्दै प्रदर्शन गरेका छन्। नेपाल ई–रिक्सा तथा टेम्पो चालक संघको नेतृत्वमा चालकहरूले ई–रिक्सा र टेम्पोसहित पुरानो बसपार्कबाट निकालेको र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो।

कोरोना महामारीको कारण देखाउँदै सरकारले लामो समयसम्म सार्वजनिक यातायात ई–रिक्सा, टेम्पो, ठेलालगायत मझौला सवारी सञ्चालनमा प्रतिबन्ध लगाएपछि मारमा परेको उनीहरूको दुःखेसो थियो। ‘मजदुर मारा सरकार मुर्दावाद’, ‘मजदुरलाई गरिखान देऊ’ बैंक ब्याज मिनाहा, शतप्रतिशत पीसीआर जाँचलगायत नारा लेखिएका प्लेकार्ड ई–रिक्सामा टाँसी, हातमा कालोपट्टी बाँधेर उनीहरू प्रदर्शनमा उत्रेका थिए। उनीहरूले स्थानीय प्रहरीले सवारीको चाबी खोस्ने, सिट लैजाने र एक हजार रुपैयाँ जरिवाना लिएर दुख दिएको प्रति आक्रोश पोखे।

लहान ८ का रिक्सा चालक कपिल पासवानले भने, ‘सरकारले कि राहत कि रोजगारी दिनुपर्छ। नभए जीविका कसरी चलाउने ? ’ काम गर्न नसक्दा लकडाउन अवधिभरमा ऋण सापटी गरी हातमुख जोडेको उनले सुनाए।

एक हप्ता अगाडि आफूहरूले लहान नगरपालिकासँग राहत माग गरेको तर अहिलेसम्म सुनुवाइ नभएको ई–रिक्साचालक लहान नगर अध्यक्ष मनोज मण्डलले बताए। सरकारले अर्बाैं रुपैयाँ कोराना भाइरस नियन्त्रणमा खर्चिएको फेरिहस्त देखाएको तर मजदुरलाई आवश्यक राहत नदिएको ट्रेड युनियन कांग्रेस सिरहाका अध्यक्ष सञ्जीव उपाध्यायले बताए।

साना तथा मझौला सवारीसाधन चल्न दिने निर्देशन माथिबाट नआएकोले चाबी र सिट नियन्त्रणमा लिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख खगेन्द्र एक्तेनले बताए।

लहान नगरपालिका— २ का रामसुन्दर महतोले एक वर्षअगाडि चार लाख पाँच हजारमा बैंकबाट फाइनान्स गराएर किनेको तर लकडाउन भएदेखि एक रुपैयाँ तिर्न नसकेको सुनाए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026