भिसा आइसकेका कामदारलाई मलेसिया जान स्वीकृति, संस्थागततर्फको रोक कायमै

21 January, 2019

सरकारले यसअघि नै भिसा आइसकेका कामदारलाई मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिन सुरु गरेको छ । तर, त्यसका लागि दूतावासमार्फत प्रक्रिया पुरा गर्नुपर्ने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको तर्क छ ।

जबकी नेपालमा सीधै दूतावासमार्फत भिसा प्रक्रिया गर्न मलेसियाले कुनै संयन्त्र नबनाएको दावी म्यानपावर व्यवसायीको छ । सरकारले कारवाही गरेकै भीएलएनमार्फत हालसम्म भिसा प्रक्रिया गर्नुपर्ने नियम रहेको उनीहरु बताउँछन् ।

सरकारले करिब ८ महिनापछि कलिङ भिसा प्राप्त गरेका कामदारलाई व्यक्तिगततर्फको श्रम स्वीकृति लिएर मलेसिया उड्न दिन सुरु गरेको हो । तर, अझै पनि संस्थागततर्फको अन्तिम श्रम स्वीकृति नदिने अडानमा मन्त्रालय छ ।

श्रम मन्त्रालयले ३ महिनाअघि मलेसियाँसग गरेको समझदारीमै कलिङ भिसा आइसकेका कामदारलाई तत्काल मलेसिया पठाउने समझदारी गरेको थियो । तर, श्रममन्त्री गोकर्ण बिष्टले कामदार ठगी गर्ने बिचौलिया संयन्त्रका रुपमा रहेको भीएलएनमार्फत कलिङ भिसा आएकालाई पनि अन्तिम श्रम स्वीकति नदिने अडान लिएका थिए ।

उनले भीएलएन र वानस्टप सेन्टरबारे अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उसैमार्फत भिसा प्रक्रिया पुरा गरेर कामदारलाई मलेसिया पठाउन नसकिने बताउँदै आएका थिए ।

तर, अचानक कलिङ भिसा आएकाहरुको व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति खुला भएको छ । भीएलएनबाटै प्रक्रिया पुरा भएका कामदार व्यक्तिगतर्फबाट अन्तिम श्रम स्वीकति लिएर उड्न पाउने तर, संस्थागततर्फको जान नपाउने भएपछि व्यवसायी त्यसको विरोधमा छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ सरकारले अस्पष्ट ढंगबाट काम गरिरहेको बताए । उनले हिजो भीएलएनमार्फत नै भिसा प्रक्रिया पुरा गर्न नहुने अडानमा रहेको सरकारले एकाएक व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउने तर संस्थागततर्फ जान नपाउने भनेर के गर्न खोजेको हो भन्ने बुझ्न नसकिएकएको बताए ।

‘हामी आज बैठक बसेर भोलि नै सबै कलिङ भिसा आएका कामदारको पासपोर्ट अन्तिम स्वीकृतिका लागि पेश गर्छौ, ‘ उनले भने,’त्यही प्रक्रियाबाट व्यक्तिगतवाला जान पाउने तर संस्थागत जान नपाउने भन्ने त हुँदैन होला ।’

हाल यस्ता कलिङ भसा प्राप्त गरेका ९ हजार ३ सय ३० भन्दा बढी कामदार अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा छन् ।

सरकारले बिचौलिया संयन्त्रमार्फत विभिन्न बाहानामा पैसा उठाएर कामदार ठगिएको भन्दै विभिन्न संयन्त्रमाथि कारवाही गरेको थियो । त्यसपछि नै भिसा प्रक्रियामा उल्झन आएपछि सरकारले नै मलेसियमा जान श्रम स्वीकृति रोकेको थियो ।

तर, हाल आएर सरकारले अस्पष्ट ढंगले दूतावासमार्फत भिसा प्रक्रिया पुरा गर्नेलाई मलेसिया जान दिने भनेपनि थप अन्योल बढेको छ । व्यवसायीहरु दूतावासमा त्यस्तो संयन्त्र नै नरहेको र पुरानो संयन्त्रमार्फत नै प्रक्रिया पुरा गरेर हालै २० कामदार उडेको दावी व्यवसायीको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024