भिजिट भिसामा कम्बोडिया मानव तस्करी गर्ने मेनपावर सञ्चालक पक्राउ

28 Sep, 2022

भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्तरीका उदितनारायण साहलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। महोत्तरीका एक युवकलाई गत चैत २७ मा उनले दुबई हुँदै भिजिट भिसामा कम्बोडिया पुर्याएका थिए। त्यहाँ चिनियाँहरूले सञ्चालन गरेको कल सेन्टरमा बन्धक बनाई अनलाइनमार्फत हुने ठगीको काममा लगाइएको थियो।

त्यहाँ रहँदा आफूलाई करेन्ट लगाउनेलगायत यातनासमेत दिइएको पीडितले बताएका छन्। गत २२ भदौमा थाइल्यान्डस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ, कम्बोडियाको पहलमा उनको उद्धार भएको थियो।

उद्धार गरिएका युवकको जाहेरीका आधारमा मेनपावर सञ्चालक र दुई कर्मचारीलाई समेत पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी दानबहादुर मल्लले बताए।

मेनपावरका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिस्ट राखी भन्ने कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको हो। साथीमार्फत चिनजान भएकी राखी सिंहमार्फत पीडित युवक सो मेनपावरमा पुगेका थिए। कम्बोडियाले अन्य देश नघुमेका नेपालीलाई ‘अन अराइभल भिसा’ सहजै नदिने भएकाले केही दिन दुबईमा राखेर त्यहाँबाट कम्बोडिया लगिएको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024