भारत हुँदै खाडी मुलुकको यात्रा गर्दा एनओसी अनिवार्य

20 May, 2025

काठमाडौँ — नयाँदिल्लीस्थित नेपाली दूतावासले मध्यपूर्वका केही मुलुकहरूमा जानपूर्व ‘नो अब्जेक्सन लेटर’ लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । भारतीय विमानस्थल प्रयोग गरी मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनानसहित ९ वटा देशहरूमा उड्नका लागि दूतावासद्वारा जारी गरिएको ‘नो अब्जेक्सन लेटर’(एनओसी) लिनुपर्छ ।

वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लगाएर आएका नेपालीहरूलाई दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिनेगर्छ । नेपाल सरकारले भारत हुँदै खाडी मुलुकको यात्रामा कडाइ गरेको हो ।

वैदेशिक रोजगारीमा पठाउने कतिपय दलालले भारतीय विमानस्थल हुँदै मध्यपूर्वका देशहरूमा श्रमका लागि जन नक्कली श्रम स्वकृति र नक्कली ‘नो अब्जेक्सन लेटर(एनओसी)’ को प्रयोग गर्ने गरेका छन् । नक्कली कागजातबाट भारतीय विमानस्थलको अध्यागमन पार गर्न खोज्ने सूचनाहरू बढेपछि दूतावासले एनओसी लिएर मात्र विमानस्थलमा जान भनेको छ ।

‘नक्कली कागजातहरू प्रयोग गर्न खोज्ने व्यक्तिहरूलाई भारतीय अध्यागमन अधिकारीले विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा पठाइएका व्यक्तिहरूको संख्या पनि सोहीअनुरूप वृद्धि हुँदै गइरहेको सूचनाप्रति दूतावासको ध्यानाकर्षण भएको छ,’ दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024