भारतमा रहेका नेपालीलाई दूतावासको अपिल-‘आ-आफ्नै ठाउँमा रहनुस्’

23 March, 2020

नयाँदिल्ली — भारतस्थित नेपाली दूतावासले प्रवासी नेपालीहरुलाई कोरोना भाइरस (कोभिड–१९) का महामारीबाट सुरक्षित रहनका लागि नेपाल सरकार, दूतावास एवं भारतका विभिन्न निकायहरुका तर्फबाट जारी निर्देशन र एड्भाइजरीको पालना गर्न आग्रह गरेको छ ।

सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै नयाँदिल्लीस्थित दूतावासले त्यस्तो आग्रह गरेको हो। ‘कोभिड १९ ले विश्वव्यापी रुपमा निम्त्याएको स्वास्थ्य महामारीबाट सुरक्षित हुने सन्दर्भमा नेपाल सरकार तथा नेपाली राजदूतावास, नयाँदिल्ली र भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारहरुले जारी गरेका विभिन्न एडभाइजरी/निर्देशनको सम्मान तथा पूर्ण रुपमा पालना गर्दै आफू तथा आफ्नो परिवार सुरक्षित रहन भारतमा रहनु भएका नेपालीहरुलाई यस राजदूतावास हार्दिक अपिल गदर्छ,’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

यकिन तथ्यांक नभए पनि प्रवासी नेपाली संगठनहरुका अनुसार दश लाख भन्दा बढी नेपाली पेशा र व्यवसाय तथा मजदुरीका लागि भारतका विभिन्न स्थानमा रहेको अनुमान छ।

दूतावासले नेपालले सरकारले भारतसँगको सीमासमेत मानिसको आउजाउका लागि पूर्ण बन्द गरिएको एवं भारतमा समेत रेल, बसलगायतका लामो दूरीका यातायात सेवा बन्देज लगाइएको हुँदा सबैलाई आआफ्नो बसोबास भएको ठाउँमा सुरक्षितसाथ बस्न समेत आग्रह गरेको छ। नेपाल सरकारले भारतसँगको नाका पूर्णरुपमा बन्द गरेको भोलिपल्ट दूतावासले यस्तो आग्रह गरेको हो। नेपाल सरकारले आइतबार मात्र १८ चैतसम्मका लागि भारत र चीनसँगका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो।

भारतमा कोरोना महामारीको त्रास बढ्दै गएपछि विगत केही दिनयता प्रवासमा रहेका नेपालीहरुको घर फर्कने क्रम बढेको थियो। त्यसले नेपालमा समेत कोरोना महामारी भित्रिने जोखिम बढेको भन्दै भारतसँगको नाका बन्द गर्नुपर्ने दबाब बढेपछि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोरोनोको जोखिम कम गर्न सरकारलाई भारतसँगको नाका तत्काल बन्द अनुरोध गरेको थियो।

यसका अतिरिक्त, दूतावासले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन समेत भारतमा रहेका नेपालीहरुलाई अपिल गरेको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024