भारतमा दुई नेपाली लुटिएपछि बेपत्ता

20 January, 2019

यज्ञराज थापा

भारतमा मजदुरी गरेर घर फर्कने क्रममा दैलेखका भक्तबहादुर कटुवाल र चक्रबहादुर सुनार हरिद्वारबाट बेपत्ता भएका छन् । उत्तराखण्ड प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा पुस २८ गते दिउँसो अपरिचित व्यक्तिहरूले नशालु वस्तु राखिएको चिया खुवाएर बेहोस पारी उनीहरूसँग भएको ८७ हजार भारतीय रुपैयाँ लुटेका थिए ।

घटनाको पाँचौं दिन हरिद्वार नजिकको एक जंगलमा आफ्नो होस खुलेपछि नजिकको बस्तीमा आएर चक्रबहादुरले घरपरिवारको मोबाइलमा बिहीबार सम्पर्क गरेपछि घटनाबारे थाहा भएको हो।त्यतिबेला सम्पर्क गराइदिने ती नेपाली व्यक्तिलाई कलब्याक गर्दा ‘त्यो बेला कुरा गराइदिएको हो, उहाँ त बिहीबार नेपाल गइसक्नुभयो’ भनी जवाफ फर्काएपछि लुटिएका व्यक्तिहरूको खोजीमा थप समस्या भएको छ।हरिद्वारबाट नेपालगन्ज १० घण्टामा र ढिलोमा दोस्रो दिन शुक्रबार दैलेख आइसक्नुपर्नेमा उनीहरू शनिबारसम्म बेखबर छन् ।

छोरा नरेश सुनारले बुबा चक्रबहादुर नै बेखबर भएपछि अन्योलमा परेको बताए।सम्पर्कमा ल्याइदिने व्यक्तिले पाँच हजार भारतीय रुपैयाँ आईएमईबाट पठाउन लगाएको र त्यो रकम प्राप्त गरेपछि फोन रिसिभ नगरेबाट थप शंका पैदा भएको नरेशले बताए।दैलेखका पत्रकार अमर सुनारको पहलमा हरिद्वारमा रहेका दैलेख पिपलकोटका रामप्रसाद जोशी र हरिद्वारकै छिमेक रुद्रपुरका मनोज थापाले शुक्रबार दिनभर त्यहाँका प्रहरी, सामाजिक सञ्जाल र सम्भावित सूचना स्रोतसँग खोजबिन गर्दासमेत पत्ता लाग्न सकेको छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024