भारतबाट फर्किने नेपाली भन्छन्– स्वदेशमा रोजगारी दिन सक्ने उम्मेदवारलाई साथ दिन्छौँ

6 May, 2022

मोहन विष्ट

स्थानीय तहको चुनाव आउन एक साता मात्रै बाँकी छ। रोजगारीका लागि भारत गएका नेपाली पनि चुनावका लागि घर फर्किन लागेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा भारतबाट घर फर्कने नेपालीको भिड देखिन्छ। तर, केही भने कामका लागि भारत जान लागेका पनि देखिन्छन्।

चुनावकै लागि केही नेपाली घर फर्किएका छन्। उनीहरूले विगत हेरेर यसपटक राम्रा र जनताका लागि काम गर्ने उम्मेदवारलाई साथ दिने बताइरहेका छन्। भीमदत्त नगरपालिका– ५ बनखेतका कैलाश लावड पनि चुनावका लागि घर फर्किएका छन्। भारतको मुम्बईको एक कम्पनीमा कार्यरत लावडले राम्रो उम्मेदवार जिताउन स्वदेश फर्किएको बताए।

लावड एक वर्षअघि मात्रै कामका लागि मुम्बई गएका थिए। ‘हामी स्वदेशमै रोजगारी गर्न चाहन्छौँ,’ उनले भने, ‘अबका स्थानीय जनप्रतिनिधि सक्षम हुन्। रोजगारी सिर्जना गर्न सक्ने हुन् भन्ने हो। हामीलाई स्वदेशमै रोजगारी दिन सक्नेलाई भोट दिन्छौँ ।’

यस्तै, बेलडाँडी गाउँपालिका– १ झर्नासागरका युवक दीपेन्द्रराज भट्ट पनि चुनावकै लागि स्वदेश फर्किएका छन्। दिल्लीको जुस कम्पनीमा कार्यरत उनले चुनावका लागि राम्रो उम्मेदवार छान्न नेपाल आएको बताए। ‘स्थानीय सरकार राम्रो र बलियो हुँदा हामीलाई स्वदेशमै रोजगारी दिन सक्छ,’ उनले भने, ‘युवाका लागि काम गर्नेलाई सहयोग गर्छौँ।’ शुक्लाफाँटा नगरपालिका– ५ वन समितिका पदमराज भट्टले स्वदेशमै रोजगारीकाे अवसर दिनेलाई मत दिने बताए। ‘देशमा राजाकालदेखि गणतन्त्र आइसक्यो,’ उनले भने, ‘तैपनि हामी नेपालीले गुजारा चलाउन परदेश नै जानुपर्छ, अब त राम्रा उम्मेदवार र युवाका लागि रोजगारीका कार्यक्रम ल्याउनेलाई मत दिन्छौँ।’

स्वदेशमा रोजगारीका कार्यक्रम सञ्चालन गर्ने उम्मेदवारलाई मत दिने उनको भनाइ छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार १ वैशाख ०७९ देखि हालसम्म तीन साताको अवधिमा भारतबाट दुई हजार ६ सय दुईजना नेपाल आएका छन् भने एक हजार आठ सय ६९ भारत प्रवेश गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024