भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजिटिभ

3 April, 2021

कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजिटिभ आएको छ।     

सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजिटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजिटिभ आएको छ। 

यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३  मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजिटिभ आएको छ।  कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ। दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजारको हाराहारीमा रहँदै आएको छ। भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन्। रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ। 

शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५  भारतीय भारततर्फ गएका छन्। सीमानाका गड्डाचौकी भएर ३०० भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या १५० रहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026