भारतबाट आएका युवाको सीमानजिक मृत्यु, कोरोना रिपोर्ट नेगेटिभ आएमात्र शव नेपाल ल्याइने

10 June, 2020

भगवती पाण्डे

भारतबाट नेपाल आउँदै गरेको नवलपरासीका एकजना युवकको सुनौली आइपुग्दा मृत्यु भएको छ।

भारतको मुम्बईमा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३२ वर्षका युवाको सीमानजिकै आइपुग्दा बुधबार बिहान मृत्यु भएको हो।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भारतबाट आउँदै गरेका व्यक्ति रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बेहोस भई पल्टिएपछि अचानक मृत्यु भएको र थप प्रकृयाको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई जानकारी गराइएको बताए।

ती युवा पहिलेदेखि नै अरू रोगबाट समेत पीडित रहेको परिवारले बताएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोरोनाको महामारीबीचमा भारतबाट आउँदै गरेको र भारतीय भूमिमै मृत्यु भएकोले भारततर्फ नै पिसिआर परीक्षण गरेपछि मात्र शव व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढाइने जानकारी दिए।‘नवलपरासीका एक व्यक्तिको सुनौलीनजिकै आइपुग्दा मृत्यु भएको जानकारी पाएका छौं, अहिले कोरोनाको महामारी भइरहेको बेला भारततर्फ नै कोरोना परीक्षण गर्नुपर्छ भनेका छौं, कोरोना परीक्षणपछि रिपोर्टको आधारमा शव व्यवस्थपनको प्रकृया अगाडि बढाउछौं,’ पन्थले भने।

पन्थका अनुसार पिसिआर परीक्षणमा कोरोना पोजेटिभ आए भारतमै शव व्यवस्थापन गरिने छ भने रिपोर्ट नेगटिभ आएमात्र शवलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाइने छ।

मुम्बईमा सँगै काम गर्ने पाल्पाका व्यक्तिसँगै आएका उनको मृत्यु भएपछि अहिले परिवार तथा आफन्त सुनौली जाँदै गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026