भारतबाट आउनेको सङ्ख्या घट्दै, मङ्गलबार एक हजार १६८ भित्रिए

16 June, 2020

चाँदनी आचार्य

लम्की, असार २ गते । सुदूरपश्चिमका मुख्य दुई नाकाबाट मङ्गलबार एक हजार १६८ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने २६४ भारतीय नागरिक भारत फर्केका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २२० नेपाली भित्रिएका छन् भने १०३ जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या सोमबारको तुलनामा घटेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार गौरीफन्टा नाकाबाट मङ्गलबार ९४८ जना नेपाली नागरिक भित्रिएका छन् भने १३४ भारतीय नागरिक बाहिरिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख पन्ध्र हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या सोह्र हजार बढी पुगेको छ ।

नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट दैनिक नेपाली भित्रिएसँगै स्थानीय तहका क्वारेनटाइनसमेत भरिभराउ भएका छन् । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा बसेर परीक्षणपछि मात्र घर जानपाउने व्यवस्था गरिएको छ ।

परीक्षण गर्दै घर पठाउँदै

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेकालाई परीक्षण गरी घर पठाइएको छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म ७४ हजार ५२१ जनाको आरडीटी परीक्षण गरिएको जनाएको छ ।

जसमध्ये चार हजार ८२२ पोजिटिभ देखिएको छ । त्यसैगरी, हालसम्म ११ हजार ६३२ को आरटी पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकोमा नौ हजार १३९ को परीक्षण भएकोमा ३४४ जनामा पोजिटिभ देखिएको जनाएको छ ।

पीसीआर पोजिटिभ ३४४ जनामध्ये ७४ जना निको भएर घर गइसकेका छन् भने २६८ बिरामीमध्ये १०४ जना विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन् भने बाँकी नौ जिल्लाकै विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा रहेका छन् ।

परीक्षणमा नेगेटिभ रिपाेर्ट आएकाहरू घर गएका छन् । अझै प्रदेशभरि ४७ हजार २५७ जना नौ जिल्लाका क्वारेन्टाइनमा रहेका छन् जसमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा १४ हजार ८०२ छन् भने सबैभन्दा कम दार्चुला जिल्लामा एक हजार ३१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026