भारतको बैंगलोरमा कुटपिटबाट बाजुराका युवकको मृत्यु, दुई नेपाली पक्राउ

17 July, 2026

Prakash Singh

भारतको बैंगलोरमा कुटपिटपछि बाजुराका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ का २१ वर्षीय गजेन्द्र विश्वकर्मा रहेका छन् ।

घटनामा संलग्न भएको आरोपमा बाजुराकै बुढीनन्दा नगरपालिका–१० पान्डुसैन डाँडाका २६ वर्षीय नरेन्द्र चदारा र २२ वर्षीय राम चदारालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपित गोविन्द चदारालगायतका केही व्यक्ति फरार रहेको मृतकका दाजु सुरेश बिकले जानकारी दिए ।

मृतक विश्वकर्माको शव अस्पतालमै रहेको उनले बताए । घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेसम्म शव नउठाउने अडान आफन्तको छ ।

मृतक गजेन्द्र रोजगारीको सिलसिलामा चार वर्षदेखि बैंगलोरमा बस्दैआएका थिए ।

आरोपितहरू एकै घरका तीन दाजुभाइ रहेको बताइएको छ । उनीहरूको सामूहिक कुटपिटपछि आफ्ना भाइको हत्या भएको गजेन्द्रका दाजु सुरेशको आरोप छ ।

गजेन्द्र र आरोपितहरू बीच आपसमा सामान्य विवाद हुँदा सोमबार (असार २९) साँझ आफ्ना भाइमाथि कुटपिट भएको उनको भनाइ छ ।

कुटपिटबाट घाइते भएका गजेन्द्रलाई उपचारका लागि अस्पताल लगेको र उपचारका क्रममा हिजो बुधवार मृत्यु भएको सुरेशले जानकारी दिए ।

पीडित परिवारले न्यायका लागि नेपालबाट पनि आवश्यक कानुनी, प्रशासनिक तथा समन्वयात्मक सहयोग उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

यस्तै, प्रवासी नेपालीका संघसंगठनसँग पनि न्यायको पहल गरिदिन मृतकका परिवारले आग्रह गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024