कञ्चनपुर — नोकरी दिने प्रलोभन देखाइ भारत उत्तराखण्डको रुद्रपुर र काशीपुरमा बन्धक बनाएका ५७ जना नेपालीलाई उद्धार गरी बुधबार गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको छ ।
‘किन इन्डिया’ स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएका उनीहरुलाई संघ संस्था र भारतस्थित नेपाली दूतावासको सहयोगमा ल्याइएको हो ।
गड्डाचौकी नाकामा पुगेका उनीहरुलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका हुन् ।
किनले उद्धार गरी ल्याएको र उनीहरुसँगै सल्लाह गरेर त्यही अनुसार व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ‘सुदूरपश्चिममै घर भएकालाई आजै घरतर्फ पठाइनेछ,’ उनले भने, ‘टाढाको हकमा भने विभिन्न संघ संस्थाले बसोबास र खानाको व्यवस्था गरेका छन्, जाने अवस्था भए घरतिरै पठाइनेछ ।’
उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुमका र पाँचथरका ४/४, दाङ, स्याङजा र बाँकेका ३/३ जना, ताप्लेजुङ, डोटी र धादिङका २/२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुंग, इलामा र रुपन्देहीका १/१ जना गरी ५७ जनाको उद्धार गरिएको हो । उनीहरु सबैलाई बुधबार यहाँ ल्याइएको किन इन्डिया नवीन जोशीले बताए ।
काशीपुरबाट ३५ जना र रुद्रपुरबाट २२ जनालाई उद्धार गरिएको हो । उनीहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर घरबाट बोलाइ जनही २३ हजार भारुसमेत जम्मा गर्न लगाएको थियो । त्यसपछि कोठामा राखेर खाना बस्न पनि राम्रो नदिने तथा बाहिर समेत निस्कन नदएिको अवस्थामा उद्धार गरिएको हो ।