बोर्डर बन्द भएपछि सुनौली नाकामा २ सय नेपाली अलपत्र

23 March, 2020

भैरहवा — नेपाल-भारतबीचको सीमा नाका बन्द भएपछि भारतबाट घर फर्किएका नेपालीहरूको ठूलो समूह सुनौली नाकामा अलपत्र परेको छ । भारतको कानपुर, गोरखपुर, बनारस, मुम्बई, मद्रास, दिल्लीलगायतका ठाउँबाट आएका उनीहरूको सुनौली नाकामा अलपत्र परेका हुन् ।

दुई सयको हाराहारीमा रहेका उनीहरूले सीमा बन्द हुने बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्। लामो यात्रापछि आफूहरू सीमा नाकामा आइपुगेको उनीहरूले बताए।

रोजगारीका क्रममा मुम्बईबाट घर फर्किएका नवलपरासीको बुङ्दीकाली गाउँपालिकास्थित डेढ गाउँ घर भएका टेकबहादुर नेपालीले आफ्‍नै देशमा आउँदा समस्या भएको गुनासो गरे। उनले भने, ‘हामीलाई राम्रो किसिमबाट चेकजाँच गर्नुहोस्। क्‍वारेन्टाइनमा राख्‍नुहोस्तर यसरी अलपत्रमा नपार्नुहोस्।’

भारत सरकारले जनता कर्फ्यू लगाएपछि सुनौली बजार पूर्ण रूपमा बन्द छ। बजार बन्दभएपछि उनीहरूको खानसमेत खान नपाएपछि आत्तिएका छन्। भारतीय पक्षबाट आफूहरूलाई नेपालको सीमामा पठाइएपनि नेपाली पक्षबाट रोकावट भएको उनीहरूले बताएका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आफू गृह मन्त्रालयको निर्णयको प्रतिक्षामा रहेको बताए। उनले भने, ‘मैले यस विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु। मन्त्रालयको निर्णय पर्खिएर बसेको छु।’

सीमा नाकाबाट २५ किलोमिटरको दूरीमा रहेको बुटवलमा आइसोलेसन वार्ड बनाउने सरकारको तयारी भएपनि अन्योल देखिन्‍छ।

सीमा नाका आगामन बन्द भएपनि ढुवानी भने खुला छ। सीमा नाका बन्द हुनुभन्दा अघि ८ सय ६७ जना नेपाल भित्रिएका छन्। बोर्डर सिल भएपछि सुनौली नाका हुँदै १२ सय २६ जना सुनौला नाकाबाट ढुवानीका सवारीसहित नेपाल प्रवेश गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024