बेलायतमा बलात्कारपछि नेपाली महिलाको हत्या

6 June, 2013

नविन पोखरेल

बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी एक नेपाली महिलाको बलात्कारपछि हत्या भएको छ । पाँचथर थर्पु– ६ स्थायी घर भएकी ४० वर्षीया कृष्णमाया माबोको हत्या भएको हो । गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो ।

प्रहरीले तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा त्यस रातभर खोजी गरे पनि केही पत्ता नलागेपछि भोलिपल्ट सोमबार पुनः खोजी गर्दा घरबाट करिब दुई माइल टाढा रोविन हुड कोप्स्को गहुँबारीमा दिउँसो एक बजेतिर शव भेटिएको उनका श्रीमान ठालुमान माबोले ईकान्तिपुरलाई बताए । ठालुमान ब्रिटिश आर्मीमा १६ वर्ष जागिर गरेर अवकासपछि हाल आर्मीकै एमपीजिएसमा कार्यरत छन् । उनका अनुसार, कृष्णमायाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । शव हाल रोयल बक्र्ससायर हस्पिटल रेडिङमा राखिएको छ ।

थेम्स् भ्याली पुलिसले हत्या आरोपमा तीस वर्षीय एक पुरुषलाई पक्रिएर अनुसन्धान भइरहेको जनाएपनि विस्तृत केही बताएको छैन् । सन् २००० देखि बेलायत बस्दै आएकी कृष्णमायाका श्रीमान, एक छोरा र दुई छोरी छन् । हत्याको खवरले बेलायतको नेपाली समाज स्तव्ध छ । पाँचथर सेवा समाज यूकेका कोषाध्यक्ष नगेन्द्र लिम्बुले हत्यापछि समस्त पाँचथरवासी मर्माहत भएको उल्लेख गर्दै उनको अन्त्येष्टिमा सघाउन सबै लागिरहेको जनाए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026