बेलायतमा अलपत्र नेपालीको उद्धार गरिँदै

18 Jun, 2020

कान्तिपुर संवाददाता

लन्डन — लकडाउनका कारण बेलायतमा रोकिएका नेपालीहरुको यही २४ र जुन २६ मा उद्धार गरिने भएको छ । नेपाली दूतावास लन्डनले आउँदो बुधबार र शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा लन्डन ग्याटविक विमानस्थलबाट चार्टर विमान छुट्ने जानकारी दिएको हो । 

दूतावासका प्रवक्ता शरदराज आरनले जजिरा एअरलाइन्सका दुई ए ३२० एअरबसमार्फत बेलायतमा रोकिएका नेपालीमध्ये एक उडानमा १५८ का दरले स्वदेश फर्किने बताए ।

विमान कुवेत ट्रान्जिटमा करिब डेढ घन्टा रोकिए पनि यात्रुहरु बाहिर जान पाउने छैनन् । अर्को दिन बिहान ९ बजेर १० मिनेटमा उडान काठमाडौंमा अवतरण हुने बताइएको छ । करिब ३ महिना बेलायतको साउथ ह्याम्पटन बन्दरगाहमा रोकिइरहेका हर्क बोहोराले नेपाल जाने खबरले आफू उत्साहित भएको बताए । यसअघि लन्डन दूतावासले स्वदेश फर्किन चाहने ४ सय २० जना नेपालीको विवरण नेपाल सरकारलाई पठाएको थियो ।

भिसा समाप्त भएका, रोजगारी गुमाएर बिचल्ली परेका, अध्ययनका क्रममा आएर हाल पूरा गर्न असमर्थ रहेका, तालिमका लागि आएका सरकारी कर्मचारी, सेना, चिकित्सक र अन्य कर्मचारी एवं पारिवारिक तथा अन्य कारणले फर्किनुपर्ने सूचीमा छन् । 

यी उडानमा जान कोरोना नेगेटिभ रहेको पीसीआर रिपोर्ट, करिब साढे ११ सय डलर भाडा, नेपाल पुगेपछि १४ दिन अनिवार्य क्‍वारेन्टिन लगायतका सर्त छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024