बेपत्ता महिला तथा बालबालिकाको उद्धार प्रयास

9 August, 2019

बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ। भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्रयास थालिएको हो। नेपालगञ्जस्थित माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको सङ्ख्या विगत नौ महिनाको अवधिमा ५०० भन्दा बढी पुगेको छ। त्यसमध्ये १३६ को सकुशल र यौन शोषणमा परेका ५७ जनाको उद्धार गरिएको छ।यसअघि दिल्ली पुर्‍याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो।त्यसअघि पनि तीन महिलाको उद्धार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ लाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ।’बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले गैरकानूनीरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ’, संयोजक कोइरालाले भने।कामको प्रलोभनमा गैरकानूनीरूपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्यासमेत बढेको छ।राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई गैरकानूनीरूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन्। महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ छ। माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ।

मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालिम दिएर उनीहरुमार्फत विभिन्न स्यानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ। यसका साथै, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, पुनःस्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताए। रासस

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024