काठमाडौँ — कतारले आप्रवासी कामदारको मुख्य बासस्थान सनैया क्षेत्रलाई बुधबारदेखि आंशिक रुपमा खोलिने भएको छ । कोरोना भाइरस भेटिएपछि सनैयाको सडक नम्बर १ देखि ३२ को क्षेत्रलाई एकमहिनादेखि कडा रुपमा लकडाउनमा राखेको हो । यो क्षेत्रमा मात्रै झन्डै नेपाली सहित ५० हजार कामदार छन् ।
सडक नम्बर १ र २ नम्बर क्षेत्रमा राखिएका कामदारलाई अन्य ठाउँमा सारेपछि यो क्षेत्रलाई आंशिक रुपमा खोल्न लागिएको हो। उच्चस्तरीय संकट व्यवस्थापन समितिले बाँकी ठाउँ पनि विस्तारै खुकुलो बनाउँदै लैजाने जनाएको छ।
अप्रिल १४ देखि अप्रिल १७ सम्ममा १ र २ बाट नेपालीसहित ६ हजार ५ सय कामदारलाई विशेष क्वारेन्टाइनमा सारिएपछि सनैयालाई खुकुलो बनाउन लागिएको हो। उनीहरुलाई मेकाइनिस र वारुवा सिटीमा सारिएको हो।
प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सनैया क्षेत्रमा रहेका दीर्घरोगी भएका कामदारलाई क्वारेन्टाइनमा राखिन थालेको हो। मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओवाइडलीले ५५ वर्ष नाघेका उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घारोगी र ५५ वर्ष उमेर नाघेका कामदारलाई विशेष निगरानीमा राखिन थालेको बताए। १४ दिनको लागि क्वारेन्टाइनमा बस्नको लागि यी कामदारले ४०२८७९४५ को हटलाइनमा सर्म्पक गर्न अनुरोध गरेको छ। श्रम मन्त्रालयका अनुसार क्वोरन्टाइनमा राखिएका कामदारलाई औषधि, खाद्यान्न र लत्ताकपडा निशुल्क रुपमा व्यवस्था गरिएको छ।
क्वारेन्टाइनमा राखेका नेपाली कामदारले आफूहरु निकै सुरक्षित र सुविधायुक्त ठाउँमा राखिएको बताए। भूमिकास्थान नगरपालिका, अर्घाखाँचीका टेकराज थापाले आफूहरुलाई वारुवा सिटीमा ल्याएर राखिएको बताए। ‘म मार्च ११ देखि बाहिर जान छोडेको थिएँ। हामीलाई कोरोनाबाट सुरक्षित रहनको लागि १६ दिनसम्म आफ्नै क्याम्पमा राखिएको थियो। अहिले वारुवा ल्याएर राखेको छ’, उनले भने, ‘सबै जना सुरक्षित रहेको महसुस गरेको छौं।’
क्वारेन्टाइनमा बिहानदेखि नै नियमित स्वास्थ्य जाँच हुने गरेको छ। ‘हाम्रो स्वास्थ्य जाँचको लािग बिहान ८ बजे अघि नै स्वास्थ्यकर्मी ढोका ढकढक्याउन आइपुग्नुहुन्छ’, उनले भने, ‘बिहान खाजा, दिउँसो र बेलुका खाना आउँछ।’
उनले यहाँको सरकारले राम्रो व्यवस्थापन मिलाएको बताए। ‘क्वारेन्टाइनमा सहजै दिन कटिरहेको छ। परिवारसँग नियमित कुरा हुन्छ। दिनभर नेपाली फिल्म हेरेर दिन कट्छ।’, उनले भने।
११ कम्पनीलाई कारबाही
प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले कोरोना भाइरस नियन्त्रणको लागि चालिएको निर्देशनलाई उल्लंघन गर्ने ११ वटा कम्पनीलाई कारबाही गरेको छ। ती कम्पनीले कामदारलाई क्याम्पमा जबर्जस्ती धेरै कामदारलाई राखेको, सामाजिक दूरी कायम नगरेको र बसमा भीड गरेर कामदार राखेको भन्दै कारबाही गरेको हो। सरकारले क्याम्पमा धेरै कामदार नराख्न र बसको क्षमता अनुसार आधा मात्रै कामदार राख्न निर्देशन दिइएको छ।