‘बिना शर्त कामदार फर्काऊ’

26 August, 2020

तुलसी सुवेदी 

काठमाडौं : गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकालाई बिना शर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् उद्धार गर्न सरकारसँग माग गरेको छ। संघले उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उडान नियमित गर्न आग्रह गरेको हो।

खाडी लगायत अन्य मुलुकमा अलपत्र परेका र काम नै गुमाएर दैनिक गुजारा गर्नसम्म हम्मे परेका नेपालीको संख्या ठूलो भएको भन्दै सरकारले ती कामदारको उद्धारमा ध्यान दिन आग्रह गरेको हो। अध्यक्ष कुमार पन्तले विदेशी भूमिमा रोग र भोकको भयमा बस्नुपरेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारण विदेश मै रोकिएकाकाको यथार्शीघ उद्घार गर्न आग्रह गरे। सरकारले विदेशबाट ५२ हजारलाई स्वदेश फर्काएको छ। अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढाएको भन्दै संघले तत्काल फिर्ता ल्याउन सरकारलाई भनेको हो।

‘अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गर्ने वा सीमित उद्धार गर्ने जस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्वोधनमा अझै अनिश्चतता थपेको छ’, ज्ञापनपत्रमा भनिएको छ।  एकातिर चार्टर्ड उडानको अति नै महंगो भाडा  तिर्नुपर्ने बाध्यता र अर्कोतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको भन्दै उडान नियमित गर्नुपर्ने सघंले जनाएको छ।

नेपालमा फर्किइसकेका नेपालीको व्यवस्थापन, रोजगारीको सुनिश्चितता जस्ता कयौं प्रश्न अझै अनुत्तरित भएको भन्दै रोजगारी सिर्जनामा पनि सरकारको ध्यानाकर्षण गराएको हो। देशको कूल गार्हस्थ्य उत्पादनको करिब एक तिहाई बराबरको योगदान विदेशमा रहेका नेपालीले गर्दै आएका छन्। लाखौको संख्यामा विदेशबाट फर्कने नेपालीको व्यवस्थापन गर्न नसके अर्थतन्त्र तथा सामाजिक सन्तुलनमा असर पर्ने निश्चित भएको पन्तले बताए।

गैरआवासीय नेपालीहरु आफूले आर्जन गरेका ज्ञान र सीपलाई मुलुकको समृद्धिका लागि पनि प्रयोग गर्न  लालायित भएको बताइएको छ। महामारीको यस कठिन घडीमा सरकारसंग थप सहकार्य गर्न संघ तयार रहेको बताइएको छ। कोभिड–१९ महामारीका कारण विश्वभरका नेपाली प्रभावित छन्। संघले विदेशमा बसेका नेपालीको अवस्था अद्यावधिक गर्नेदेखि एक उच्चस्तरीय समिति गठन गरी हटलाइन सेवा, राहत वितरण, उद्धार उडानमा सहजीकरण, स्वास्थ्य सामग्री एवं खाद्यान्न वितरण लगायत सहायताका कार्य गर्दै आएको छ।

संघले विश्वभर ५० देशमा २१ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी करिब ८० हजारभन्दा बढी नेपालीलाई राहत, स्वास्थ्य सामग्री तथा आर्थिक सहायता दिएको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026