कक्षा १० मा अध्ययनरत जुगल गाउँपालिका गोल्चेकी सर्मिला तामाङ आफ्नी दिदीसँगै कुवेत जाने तयारीमा छिन् । दिदी कुमारी कक्षा १२ मा पढ्दै छिन् । उनीहरू दिदीबहिनी नै एकैसाथ विदेश जान लागेका हुन् ।
गाउँका साथीहरू विदेश गएर फर्केको देखेकाले उनीहरू पनि पढाइ छाडेरै उड्न लागेको बताउँछन् । यी दिदीबहिनीले राहदानी सिफारिससमेत भरेका छन् । उमेर १८ पुगेकी सर्मिलाले आफ्नो आर्थिक हैसियत सुधार्न विदेश जान लागेको सुनाइन् । ‘पढेर केही पार लागेन, कमाउन अब विदेश गइन्छ,’ जिल्ला प्रशासन परिसरमा भेटिएकी उनले भनिन्, ‘पैसो हुनेलाई नै सबैले गन्छन् ।’
परिवारमा आर्थिक समस्या बल्झँदै गएपछि उनीहरूमा विदेश जाने सोच बढेको हो । ‘गाउँका धेरै साथी विदेश गएर कमाई फर्केका छन्, त्यसै कहाँ दु:ख पाउनु र,’ बलेफी गाउँपालिका मांखाकी एसईई सकेकी सुजनी श्रेष्ठले भनिन् । उनी पनि दुबईको भिसा लगाउने सुरमा छिन् । ‘अब उता गएर दुई/चार वर्ष दु:ख गरिन्छ पैसा जोगाएर ल्याएपछि फेरि पढ्नुपर्ला,’ उनले भनिन् ।
सुजनीजस्तै भोटेकोसी गाउँपालिका मार्मिङकी कक्षा नौमा पढ्ने डोल्मा तामाङले राहदानी भरिसकेको जनाइन् । दाजुले चिनेको एजेन्टले सबै मिलाउने र आफू तयारीका लागि मात्रै आएको उनको भनाइ छ । डोल्मा भन्छिन्, ‘एजेन्टचाहिँ कहाँको थाहा छैन, दाइलाई सबै थाहा छ ।’ उनले सबै कुरा छिमेकी दाजुलाई थाहा भएकाले आफूहरू पासपोर्ट बनाउनमात्रै आएको बताइन् । उमेर नपुग्दै अध्ययनलाई बीचैमा छोडेर बिदेसिन चाहने किशोरकिशोरीको संख्या बढिरहेको छ । जिल्ला प्रशासनका अनुसार तीमध्ये ४० प्रतिशत किशोरी अध्ययन छाडेर बिदेसिने गर्छन् । ०७१ यता १५ हजार ८ सय २८ जना बिदेसिएका छन् । जसमा ०७३/७४ मा मात्रै ७ हजार ६ सय ५२ विदेश पलायन भएका हुन् ।
यो आवमा पनि हजार कट्ने सामी परियोजना परामर्शकर्ता अरुण पौडेलले बताए । ‘अरूको ‘हाइफाई’ जीवनशैलीकै कारण विदेश गएर पैसा कमाउने सपना उनीहरूमा पलाएको हो,’ उनले भने । उनका अनुुसार चेलीहरू विदेशमा धेरै जोखिममा पर्ने प्रमुख कारण यही हो । हालसम्म १ हजार ४१ जना ५ कक्षासमेत नपढेकाले राहदानी बनाएका छन् ।