बालश्रम मुक्त वडा घोषणाका लागि ६ बुँदे प्रतिबद्धता

16 June, 2025

मणिलाल विश्वकर्मा

सिरहाको लहान नगरपालिका १२ लाई बालश्रम मुक्त घोषणाका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुले शनिबार छ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गर्दै नेपाल सरकारले तय गरेको बाल श्रम उन्मूलन गर्ने लक्ष्य पूरा गर्न नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउन वडा तहबाट काम थालिएको लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताए । उनका अनुसार स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, सामाजिक अगुवा, मजदूर अगुवा तथा स्थानीय बासिन्दाहरुले १२ नम्बर वडालाई बालश्रम अन्त्यका लागि साझा प्रतिबद्धता जनाएका हुन् ।

लहान नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममार्फत् हस्ताक्षर गरिएको प्रतिबद्धता पत्रमा २०८२ चैत मसान्तसम्म वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने उल्लेख छ । प्रतिबद्धता पत्रमा १८ वर्ष मुनिका बालबालिकालाई शारीरिक, मानसिक र भौतिक हानि नोक्सानी हुने कुनै पनि काम नगरिने, बालबालिकालाई जोखिमपूर्ण श्रममा निषेध गरिने, स्थानीय होटल, रेष्टुरेण्ट, इँटा भट्टा, मासु पसल, माटरसाइकल तथा गाडी मर्मत गर्ने ग्यारेज, म्याजिक, विङ्गरमा कामदारको रुपमा प्रयोग नगरिने उल्लेख छ ।

त्यस्तै, बालबालिकालाई ट्रक वा ट्याक्टरमा चालक वा खोलानालामा गिट्टी बालुवा चाल्ने मजदूरका रुपमा प्रयोग नगर्ने, संविधानको मौलिक हकको धारा ३९ मा उल्लेखित बालबालिकाको हक र बालश्रम विरुद्धको कानुन बालश्रम निषेध तथा नियमित गर्ने ऐन २०५६ र बालश्रम (निषेध र नियमित गर्ने) गर्ने नियमावली २०६२ लाई पूर्ण रुपमा पालना गरिने उल्लेख छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024