बसाइँसराइको मौन क्रन्दन

7 July, 2025

विशाल भट्टराई

असार ७ गते अन्नपूर्ण पोस्ट्को फुर्सदमा मैले एउटा राष्ट्रिय पीडालाई शब्दमा उतार्ने धृष्टता गरेको थिएँ । ‘रित्तिँदा गाउँ, भरिला सपना’ शीर्षकको त्यो आलेख, रित्तिँदै गएका पहाडका कोख र भरिँदै गएका सहरका गल्लीहरूबीचको एउटा भयावह यथार्थको प्रतिबिम्ब थियो ।

त्यसको ठीक दुई दिनअघि, मैले सामाजिक सञ्जालको भित्तामा खोटाङको एउटा उजाड, भत्किन लागेको घरको तस्बिर टाँसेको थिएँ । त्यो घर केवल ढुंगा र माटोको संरचना थिएन, त्यो त आफ्नै आँगनबाट विस्थापित हुँदै गरेको एउटा सिंगो पुस्ताको मौन चिच्याहट थियो । मेरो प्रश्न सरल तर गहिरो थियो— ‘कसरी मानिसलाई गाउँमा थाम्न सकिएला ?यो प्रश्नले सायद धेरैको मुटु छोयो ।null

हजारौं मानिसहरूले शब्दका माध्यमबाट आफ्ना तर्क, अनुभव र समाधानका सपनाहरू पोख्नुभयो । त्यो सार्वजनिक बहस एउटा सानो सामाजिक सञ्जालको तरंगमात्र थिएन, बरु देशको कुना–कन्दरामा गुञ्जिरहेको एउटा साझा सुस्केराको प्रतिध्वनि थियो । जबजब बसाइँसराइको प्रश्न उठ्छ, मानिसका भावनाका बाँधहरू भत्किन्छन् । यसले देखाउँछ, यो केवल जनसंख्याको तथ्यांक वा भूगोलको फेरबदलमात्र होइन, यो त हाम्रो पहिचान, हाम्रो जरा र हाम्रो भविष्यसँग गाँसिएको एक भावनात्मक भुइँचालो हो ।

मानव र गतिको अनन्त सम्बन्ध

मानव जाति स्वभावैले यायावर हो । उसको रगतमा घुमफिरको नशा र क्षितिजपारि केही नयाँ पाउने अतृप्त प्यास निरन्तर दौडिरहन्छ । आदिमकालमा कन्दमूल र सिकारको खोजीमा होस् वा आज अवसर र समृद्धिको दौडमा, मानिस कहिलै एकै थलोमा सन्तुष्ट भएर बसेन । यो गतिशीलता नै मानव सभ्यताको विकासको इन्जिन हो । तर, जब यो गतिशीलता स्वेच्छाले नभई विवशताले निर्देशित हुन्छ, जब यो यात्रा अवसरको खोजीमा नभई आफ्नो अस्तित्व जोगाउने अन्तिम विकल्प बन्छ, तब यसले ‘आप्रवासन’ को पीडादायी रूप लिन्छ । आफ्नो उद्गमस्थलको न्यानो काख छाडेर एउटा अनिश्चित भविष्यतर्फ हानिनु, चाहे त्यो देशको एउटा कुनाबाट अर्को कुनामा होस् वा सात समुद्रपारि, यो विश्वव्यापी मानवीय नियति जस्तै बनेको छ ।

हाम्रोजस्तो अविकास र दुर्गमताले बेरिएको देशमा यो समस्या विकराल हुनु अस्वाभाविक होइन । तर आश्चर्य, विकासको शिखर चुमेका, प्रविधि र पूर्वाधारले जगमगाएका देशहरू पनि यो पीडाबाट अछुतो छैनन् । समृद्ध जापानलाई हेरौं, जहाँका चम्किला सहरहरूको पछाडि हजारौं गाउँहरू ‘भूत–गाउँ’ मा परिणत भएका छन् । त्यहाँका करिब १० लाख घरपरिवारले आफ्नो थातथलोलाई अन्तिम बिदाइ गर्दै सहरको भीडमा आफूलाई समाहित गरेका छन् । युरोपका कतिपय सुन्दर र सम्पन्न देशहरू पनि रित्तिँदै गएका ग्रामीण बस्ती र एक्लिँदै गएका वृद्धवृद्धाहरूको मौनतासँग जुधिरहेका छन् । यसले प्रमाणित गर्छ, बसाइँसराइ केवल गरिबी र अभावको उपजमात्र होइन, यो त आधुनिकता, व्यक्तिवाद र परिवर्तनशील आकांक्षाको जटिल उपज पनि हो ।

आप्रवासनका दुई अनुहार
आप्रवासनको चरित्रलाई हामी दुई फराकिला धारमा नियाल्न सक्छौंः

१. आन्तरिक आप्रवासनः यो मातृभूमिको काखभित्रै हुने एउटा यात्रा हो, तर यसले पहाड र मधेस, गाउँ र सहरबीच एउटा अदृश्य पर्खाल खडा गरिदिन्छ । पहाडको मुटुबाट रगत सहरका धमनीहरूमा बगेजस्तै, गाउँको ऊर्जा र सामथ्र्य क्रमशः सहरमा केन्द्रित हुँदै जान्छ ।
२. बाह्य आप्रवासनः यो आफ्नो देशको सिमाना नाघेर गरिने एउटा ठूलो फड्को हो, जहाँ मानिस अस्थायी वा स्थायी रूपमा अर्को देशको नागरिक बन्न पुग्छ । यो केवल भौगोलिक दूरीमात्र होइन, यो त संस्कृति, पहिचान र भावनात्मक सम्बन्धको समेत स्थानान्तरण हो ।

किन रित्तिन्छन् घर ? किन उजाडिन्छन् गाउँ ?

हरेक रित्तो घरको आफ्नै कथा हुन्छ, हरेक बसाइँ सरेको परिवारको आफ्नै व्यथा । तर विश्वव्यापी प्रवृत्तिलाई हेर्दा, मानिसलाई आफ्नो जरा उखेल्न बाध्य पार्ने मूलतः तीनवटा शक्तिशाली कारणहरू देखिन्छन्ः

१. युद्ध, द्वन्द्व र अशान्तिः जब गाउँका भाकालाई बन्दुकको आवाजले निल्छ र निर्दोष जीवन असुरक्षित बन्छ, तब मानिसका लागि माटोभन्दा ज्यान प्यारो हुन्छ । २०५२ सालमा सुरु भएको एक दशक लामो सशस्त्र द्वन्द्वले नेपालका पहाडी गाउँहरूमा यस्तै त्रासको साम्राज्य खडा गर्‍यो । सुरक्षित भविष्यको खोजीमा हजारौं परिवारले रातारात आफ्नो घर–आँगन छाडेर सुगम र सहरतर्फ आश्रय लिन बाध्य भए । त्यसैगरी, मधेस आन्दोलनका क्रममा फैलिएको अशान्तिले पनि समुदायहरूबीच अविश्वास जन्मायो र बसाइँसराइलाई थप बल दियो । यद्यपि पछिल्लो समय राजनीतिक हिंसाका घाउहरूमा मलम लागेको छ, तर त्यसले समाजमा पारेको गहिरो खत र जनसांख्यिक विचलन आज पनि मेटिएको छैन ।

२. अवसरको खोजीः हरेक मानिसको मनमा एउटा राम्रो जीवनको सपना हुन्छ । यही सपनाको खोजी बसाइँसराइको सबैभन्दा शक्तिशाली इन्धन हो ।
गुणस्तरीय शिक्षाको खोजी : हरेक आमाबाबुको आँखामा आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिएर उज्यालो भविष्य दिने सपना सजिएको हुन्छ । जब गाउँको विद्यालयको सीमितताले त्यो सपना पूरा नहुने देखिन्छ, तब उनीहरू सन्तानको भविष्यका लागि आफ्नो वर्तमानलाई दाउमा राखेर सहर पस्छन् । माध्यमिक शिक्षाका लागि सहर र उच्च शिक्षाका लागि विदेश जाने यो लहर आज एकतर्फी यात्रा जस्तै बनेको छ । ज्ञानको खोजीमा बाहिरिएको युवापुस्ता विरलै आफ्नो गाउँ फर्कन्छ, जसले गर्दा गाउँहरू बौद्धिक र ऊर्जावान् युवाविहीन बन्दै गएका छन् ।

रोजगारी र सम्मानको खोजीः पढेलेखेपछि हातमा ठेला र काँधमा हलो बोकेर बस्ने परम्परागत सोच भत्किँदैछ । सुरक्षित, आकर्षक र सम्मानजनक रोजगारी हरेक युवाको नैसर्गिक अधिकार हो । जब आफ्नो गाउँठाउँमा पसिनाको उचित मूल्य र श्रमको सम्मान पाइँदैन, तब युवाहरू आफ्नो
थातथलोलाई बिदाइको हात हल्लाउँदै सहर वा विदेशको बाटो तताउन बाध्य हुन्छन् ।

आधुनिक जीवनशैलीको मोहः एक्काइसौं शताब्दीको डिजिटल युगमा, विश्व एउटा सानो गाउँ बनेको छ । हातहातमा भएको मोबाइलले संसारका उन्नति, प्रगति र सुविधासम्पन्न जीवनशैली देखाइदिन्छ । यो देखेर गाउँको कठिन जीवन बिताइरहेको मानिसमा आधुनिक प्रविधि र अवसरहरूको उपयोग गर्ने उत्कट चाहना जाग्नु स्वाभाविकै हो । यो आधुनिकताको मोहिनी धुनले पनि मानिसहरूलाई गाउँबाट सहरतिर तानिरहेको छ ।

३. उत्पादन र प्रकृतिको द्वन्द्व :

खस्कँदो कृषि : कुनै बेला जीवनको आधार रहेको कृषि आज बोझजस्तै बन्न थालेको छ । पहाडका गह्रा–कान्लामा रगत–पसिना बगाएर फलाएको अन्नभन्दा बजारमा किनेको चामल सस्तो र सहज हुन थालेको छ । सिँचाइको अभाव, मल–बिउको समस्या, बजारको अनिश्चितता र परम्परागत प्रणालीका कारण कोदालोले बजारको डोकोसँग हार खाइरहेको छ । जब आफ्नो श्रमको फलले दुई छाक टार्न पनि मुस्किल हुन्छ, तब मानिस त्यो माटोलाई माया मारेर हिँड्न विवश हुन्छ ।

वन्यजन्तुले निम्त्याएको समस्याः बसाइँसराइको यो कथाको सबैभन्दा कारुणिक अध्याय सायद यही हो । मानिसले गाउँ छाडेपछि घरहरू भत्किए, खेतबारीहरू बाँझिए र जंगल बाक्लियो । यही बाक्लिएको जंगलबाट निस्किएर वन्यजन्तुहरूले बाँकी रहेका मानिसको जीवनलाई नै संकटमा पारिदिएका छन् । हिजो हरियो मकै मात्र खाने बाँदर आज घरभित्रको अन्न र करेसाबारीको तरकारीसमेत बाँकी राख्दैन । रातभरि जाग्राम बसेर हुर्काएको बालीनाली बिहान उठ्दा सखाप भएको देख्दा किसान कति निराश होला ? जंगलबाट निस्कने बँदेल, दुम्सी र मृगले अन्नबाली नष्ट गरिदिन्छन् भने बाघ, चितुवा र भालुले गोठका पशु र कहिलेकाहीँ मानिसमाथि नै आक्रमण गर्छन् । यो प्रकृति र मानिसबीचको असन्तुलित द्वन्द्वले पहाडमा बस्नु भनेको हरेक दिन एउटा हारेको युद्ध लड्नु जस्तै भएको छ । यही विवशताले मानिसलाई आफ्नो प्यारो थातथलो छाड्न बाध्य बनाउने अन्तिम धक्का दिन्छ ।null

यो भेललाई कसरी रोक्ने ?

बसाइँसराइको यो उर्लंदो भेललाई हेरेर निराश हुनुभन्दा यसको बेगलाई कसरी सिर्जनात्मक र व्यवस्थित बनाउन सकिन्छ भनेर सोच्नु आजको आवश्यकता हो । यसलाई पूर्ण रूपमा बाँध्न असम्भव छ, किनकि मानिसको आकांक्षा र गतिको स्वतन्त्रतालाई रोक्न सकिँदैन । तर, यसलाई विनाशकारी हुनबाट जोगाउन र यसको दिशा परिवर्तन गर्न अवश्य सकिन्छ । यसका लागि बसाइँसराइको प्रकृतिअनुसार नै समाधानको मलम लगाउनु जरुरी छ ।

जो स्वेच्छाले उन्नत सेवासुविधा र राम्रो जीवनशैलीको खोजीमा आफ्नो जन्मथलो छाड्छन्, उनीहरूलाई कानुन वा बलले रोक्न सकिँदैन । उनीहरूको हृदयमा मातृभूमिको ममता र देशप्रेमको ज्वाला जगाउनु नै सायद एकमात्र प्रभावकारी उपाय हो । तर जो मन नहुँदा–नहुँदै संकट, अभाव, दुःख र अशान्तिका कारण आफ्नो जरा उखेल्न बाध्य छन्, उनीहरूलाई रोक्नु राज्यको प्रमुख दायित्व हो । देशमा जे–जति अभाव वा असुविधा छन्, त्यसलाई सम्बोधन गर्नु र नागरिकलाई आफ्नै भूमिमा सुरक्षित र सम्मानित जीवन जिउने वातावरण बनाउनु नै पलायन रोक्ने अचुक औषधि हो । यसका लागि देशलाई सबल र सम्पन्न बनाउने दीर्घकालीन राष्ट्रिय योजनासहित निम्न उपायहरू तत्काल अवलम्बन गर्नु जरुरी छः

१. वन्यजन्तु नियन्त्रण

प्रकृति र पर्यावरणको सन्तुलनका लागि हरेक जीवजन्तुको भूमिका अपरिहार्य छ, यो अकाट्य सत्य हो । तर, जब यही इकोसिस्टमको कुनै एक तŒवले मानव जीवनलाई नै धरापमा पार्छ, तब सन्तुलनको नयाँ परिभाषा खोज्नुपर्छ । आज वन्यजन्तु संरक्षणको नाममा मानव अस्तित्वलाई नै जोखिममा पार्ने काम भइरहेको छ । तसर्थ, तिनलाई निश्चित संख्या र सन्तुलनमा राख्न वैज्ञानिक नियन्त्रण आवश्यक भइसकेको छ ।

यसका लागि केही अव्यावहारिक अन्तर्राष्ट्रिय कानुनबाट फिर्ता हुने आँटसमेत राज्यले गर्नुपर्छ । सरकारले आफ्नै फौजी संरचना तयार गर्ने वा स्थानीय तहलाई बाँदर, बँदेललगायत कृषि–हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पक्रने, थुन्ने र मार्नेसमेत अधिकार दिएर स्थानीय फौज गठन गर्न अब ढिला गर्नु हुँदैन ।

२. गाउँमै गुणस्तरीय शिक्षा

हिमाली र पहाडी क्षेत्रबाट हुने बसाइँसराइको एउटा प्रमुख कारण शिक्षाको खोजी हो । यसलाई रोक्न विद्यालय शिक्षामा आमूल परिवर्तन आवश्यक छ । निश्चित विद्यार्थी संख्या तोकेर कम भएका विद्यालयलाई मर्ज गर्ने र कम्तीमा एउटा वडामा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने हो भने राज्यको खर्च पनि जोगिन्छ र शिक्षाको गुणस्तर पनि उक्सिन्छ । जब गाउँमै गुणस्तरीय शिक्षाको ज्योति बल्छ, तब अभिभावकहरू आफ्ना सन्तानको भविष्य खोज्दै सहर पस्नुपर्ने बाध्यताको अन्त्य हुन्छ ।

३. प्रगतिशील भूमि नीति

हिमाल र पहाडका हजारौं हेक्टर जमिन खेती गर्ने मान्छे नभएर बाँझै छन् । यस्तो जमिनलाई फलफूल खेती वा अन्य उत्पादनमूलक काममा लगाउन प्रगतिशील भूमि नीति आवश्यक छ । किसानको उत्पादनले बजार नपाएर खेर जाने अवस्थाको अन्त्य गर्न राज्यले उत्पादनको आधारमा अनुदान दिने र बजारीकरणको जिम्मा लिने व्यवस्था गर्नुपर्छ । यति गर्दा पनि कसैले जमिन बाँझो राखेमा निश्चित अवधि (जस्तैः १० वर्ष) पछि त्यस्तो जमिन स्वतः सरकारीकरण हुने कडा कानुनी व्यवस्था ल्याउनुपर्छ ।

४. गुणस्तरीय स्वास्थ्य सेवा

सामान्य उपचारका लागि पनि सहर धाउनुपर्ने वा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य नभएसम्म गाउँमा कोही बस्दैन । प्रत्येक वडामा डाक्टरसहितको गुणस्तरीय स्वास्थ्य संस्था स्थापना गरिनुपर्छ, जहाँ सुलभ र सहज उपचारको ग्यारेन्टी होस् । आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचले बसाइँसराइ रोक्न ठूलो टेवा पुर्‍याउँछ ।

५. स्थानीयस्तरमै रोजगारी

ठूला पूर्वाधार निर्माण, कृषिमा आधारित उद्योग र साना उद्यमहरू खोलेर ग्रामीण भेगमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकार लाग्नुपर्छ । श्रम गर्दा सानो भइन्छ भन्ने सामाजिक भ्रम चिर्दै सीपमूलक तालिम र रोजगारीको वातावरण बनाउनुपर्छ ।
तत्काल गर्न सकिने अन्य पहलहरूः
० गाउँ फर्केर सामूहिक खेती वा उद्यम गर्न चाहनेलाई पालिकाले ५ लाखसम्म अनुदान दिने ।
० बस्तीहरूलाई एकीकृत गरी पूर्वाधार विकास गर्ने ।
० सिँचाइ र खानेपानीको विद्युत् महसुलमा भारी छुट दिने ।
० सडक, विद्युत्, सञ्चारजस्ता आधारभूत पूर्वाधारलाई गुणस्तरीय र भरपर्दो बनाउने ।
अन्त्यमा,

रित्तिँदै गएका हाम्रा हिमाल र पहाडका बस्तीहरू केवल भूगोलका खाली टुक्राहरू होइनन्, ती त हाम्रो सभ्यता, संस्कृति र पहिचानका जीवित संग्रहालय हुन् । बसाइँसराइको समाधान मानिसलाई उसको जरामा जबरजस्ती बाँधेर होइन, बरु उसलाई जरासँगै पखेटा फैलाउने अवसर दिएर मात्र सम्भव छ । आउनुहोस्, यो राष्ट्रिय समस्याको गहिराइलाई बुझौं, खुला छलफल गरौं र ती उजाड बस्तीहरूलाई फेरि सुन्दर, गुलजार र पर्यटकीय आकर्षणका केन्द्र बनाउन एकजुट होऔं । देशलाई समृद्धि र विकासको बाटोमा डोर्‍याउन आ–आफ्नो ठाउँबाट आवश्यक पहलकदमी गरौं, नत्र हाम्रा गाउँहरू रित्तिँदै जानेछन् र हाम्रा पहिचानका चिहानहरू भरिँदै जानेछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026