तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजावादी जगमान गुरुङलाई संस्कृतिविद्का रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानभित्र छिराएका थिए । पदसँगै प्रतिभा पनि प्रस्फुटित हुँदै जाने रहेछ । सन् २०१८ तिर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कार्यकालमा उनी प्रज्ञा प्रतिष्ठानको उपकुलपति पदमा विराजमान गराइए ।
आफ्नो उपकारकर्ताप्रति कृतज्ञताका कारणले होला, उनी शर्मा ओलीका सबभन्दा प्रखर प्रशंसक बन्न पुगेका थिए । उनले ‘केपी ओली र राधिका शाक्य नेपाली जनताका अभिभावक भएको’ सार्वजनिक घोषणा गरेका थिए ।
आफ्ना हितकारीलाई सर्वज्ञाता ठहर्याउँदै उनले दाबी गरेका थिए— ‘अन्य प्रधानमन्त्रीजस्तो होइन केपी ओली, उहाँलाई सम्पूर्ण शास्त्र, तन्त्र, रामायण, महाभारत, गीता सबै कण्ठ छ,’ र ‘कुनै पनि पण्डितले प्रधानमन्त्री ओलीसँग गएर प्रतिवाद गर्न सक्दैन । कुनै पनि इन्जिनियरले, मेडिकल डाक्टरले उहाँसँग बहस गर्न सक्दैन ।’
त्यसपछि उनलाई विश्व हिन्दु महासंघले ‘नेपाल ऋषि’ ठहर्यायो र उनी महापञ्च नवराज सुवेदीद्वारा ‘राजसंस्था पुनःस्थापना लागि गठित संयुक्त जनआन्दोलन समिति’ का कार्यवाहक संयोजक बनाइए । कार्यवाहक नै सही, प्रतिगामी आन्दोलनको संयोजकमा पनि आत्मविश्वास भने हुनुपर्ने रहेछ । उनले ‘मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, उसैको जन्मबार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने’ अचम्मको सिद्धान्त प्रतिपादित गर्दै ‘गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ नै भएर २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने’ ठोकुवा गरे । आजभोलि सायद उनी राजतन्त्र फर्काउन घनघोर तपस्यामा लीन भएका छन्, त्यसैले सामान्यजन उनका महावाणीहरूबाट लाभान्वित हुनबाट वञ्चित भइरहेका छन् ।
राजावादी गुरुङका अभिव्यक्तिहरू युक्तिसंगत सुनिँदैनन् तर तिनलाई विचारका इतिहासकार मिशेल फुकोको ‘शक्ति र ज्ञान एकअर्कासँग जोडिएका हुन्छन्’ अवधारणाको व्यावहारिक प्रमाणका रूपमा लिन सकिन्छ । ओहोदाले सुस्तरी काबिल बनाउँदै लग्छ भन्ने मान्यताका उदाहरण गुरुङका आदर्श व्यक्ति शर्मा ओली पनि हुन् ।
सन् १९९० भन्दा अघि शर्मा ओली कैद सजाय भुक्तान हुनुभन्दा केही पहिले माफी पाएर कारागार मुक्त भएका उग्रवादी नेकपा (माले) दलका पूर्णकालीन कार्यकर्ता (एपाराचिक) थिए । सन् १९९० पछि भने सुस्तरी उनको राजनीतिक भाग्योदय हुन सुरु भयो । एमाले महासचिव मदन भण्डारीले झापाका मैनाली दाजु–भाइलाई साइजमा राख्न उनलाई प्रयोग गर्ने निर्णय गरे । दासढुंगा दुर्घटना र काठमाडौंको उपनिर्वाचनमा विद्या भण्डारीको चामत्कारिक उदयपछि पार्टीभित्रको ‘नरम गुट’ का लागि उनको उपयोगिता अझ बढेर गएको हुन सक्छ ।
सन् १९९४–९५ तिर अल्पमतको नौमहिने मनमोहन अधिकारी मन्त्रिपरिषद्–भित्र उनी उपप्रधानमन्त्री माधव नेपालपछिको मर्यादा क्रममा रहे पनि गृह मन्त्रालयको तालुकी पाएकाले गर्दा प्रहरी र प्रशासनभित्र उनको पहुँच र प्रभाव विस्तारित हुन थालेको थियो । एकातिर माधव नेपाल अरूण–३ परियोजनाको विरोधमा उभिएर राजनीतिक पुँजी खर्चिरहेका बेला शर्मा ओली भने विवादास्पद महाकाली सन्धिका पक्षमा राजनीतिक वातावरण तयार गर्ने काममा लागेर कूटनीतिक मूलधन वृद्धि गरिरहेका थिए ।
सन् १९९६–२००६ बीच माओवादीहरूको प्रखर विरोध, राजतन्त्रको मौन समर्थन एवं गणतन्त्रलाई बयलगाडामा चढेर अमेरिका पुग्ने सपनासँग दाँजेर उनी नेपालको स्थायी सत्ताका प्रियपात्र भएर स्थापित भए । शर्मा ओलीलाई पश्चिमाहरूका लागि स्वीकार्य बनाउने श्रेय भने उनलाई उपप्रधानमन्त्रीको मान सँगसँगै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिने गिरिजाप्रसाद कोइरालालाई जान्छ ।
पश्चिमाहरूको सह पाएर माओवादीहरूप्रति कठोर दृष्टिकोण अख्तियार गरेकाले सन् २००८ को संविधानसभा निर्वाचनमा हार खाएका सुशील कोइराला, माघव नेपाल एवं कृष्ण सिटौलाजस्ता राजनीतिक हस्तीहरूको लाममा शर्मा ओली पनि थिए । नेपाली इतिहासको पहिलो र सबभन्दा प्रतिनिधिमूलक संविधानसभालाई पंगु बनाएर विघटनतिर पुर्याउनुमा वैदेशिक षड्यन्त्र सँगसँगै निर्वाचन हारेका राजनीतिकर्मीहरूको पर्दा पछाडिका गतिविधिहरूले ठूलो भूमिका निर्वाह गरेको थियो ।
पदासीन प्रधानन्यायाधीशको नेतृत्वमा गठित मन्त्रिमण्डलले गराएको निर्वाचनबाट त्यसअघि चुनाव हारेका धेरैजसो राजनीतिकर्मीहरू ‘दोस्रो संविधानसभा’ भनिएको विधायिका संसद्मा हाबी भए ।
अनि त जे हुनु थियो, त्यही भयो— गोरखा भुइँचालोको राष्ट्रिय संकट एमालेका लागि अवसर ठहरियो, देशमा खसआर्य वर्चस्वलाई निरन्तरता दिने किसिमको संविधान बन्यो र शर्मा ओली नृजातीय मुख्तियार भएर स्थापित भए । त्यसबखत उनको हिम्मत कतिसम्म बढेको थियो भने उनी पदासीन राष्ट्रपतिलाई ‘सुई लगाउनेलाई संविधान के थाहा’ भनेर होच्याउने गर्दथे र ‘डोले मिडिया’ आफ्नो नृजातीय मुख्तियारको स्तुतिगीत गाउने गर्दथ्यो ।
सुशील कोइरालाको निम्छरो नेतृत्वले गर्दा सिंहदरबारभित्र नेपालका प्रधानमन्त्रीहरूको लहरमा आफ्नो पनि तबिर देख्न पाउने शर्मा ओलीको अदम्य इच्छा अक्टोबर, २०१५ मा पूरा भयो । आफूमा अद्वितीय शक्ति, असाधारण क्षमता र अचुक सामर्थ्य रहेकाले स्वयं नै भव्य व्यक्ति रहेको भ्रमित आत्ममुग्धताका लागि देव मनोग्रन्थी (गड काम्प्लेक्स) शब्दावली प्रयोग गर्ने गरिन्छ । देव मनोग्रन्थीले ग्रस्त व्यक्तिको पहिचानात्मक हिन्दी अभिव्यक्ति हो— ‘कभी–कभी लगता है, अपुन ही भगवान है ।’
सायद, शर्मा ओलीको मनभित्र बरोबर त्यस्तो भाव आइरहन्छ । उनका कुरा बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै भएको दाबी गर्न उनलाई कत्ति पनि अप्ठ्यारो लाग्दैन । अरूको गीत मन नपरेपछि उनी आफैं गीत लेख्छन् । चन्द्रागिरि गएर कविता कोर्छन्— ‘इच्छुमतिको किनार, घुमेर भिराडिल / घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल’ र ‘मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ’ । प्रिय छोराछोरीलाई सम्बोधन गर्दै अखबारमा स्तम्भ लेखन गर्छन् ।
भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै हो भन्ने कुरा शर्मा ओली ठोकुवा गर्न सक्छन् । गैंडालाई अंग्रेजीमा समेत ‘राइनो’ भन्न नहुने ढिपी गर्छन् । भगवान् शिव ‘चाम्लिङ’ हुन सक्ने अड्कल काट्छन् । कपिलमुनि र वेदव्यासजस्ता विद्धान्हरू नेपालमै जन्मिएको र पाणिनि, पतञ्जलि तथा अन्य महर्षिहरूको तप, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र यही भूक्षेत्र रहेकामा उनलाई कुनै शंका छैन ।
हुन पनि गहिरो अध्ययनबाट निरन्तर सन्देह एवं थप जिज्ञासा उत्पन्न भई रहन्छ भने सतही ज्ञानले पूर्णताको आभास दिन्छ र अदम्य आत्मविश्वास जन्माउँछ । चरित्र अवलोकनका लागि प्रशस्त समय भए पनि अध्ययनको अवसर सीमित भएको ‘कारागार विश्वविद्यालय’ बाट व्यवहारवाद विधामा विद्यावारिधिसरहको योग्यता हासिल गरेका शर्मा ओलीमा आफ्नो क्षमतामा दृढ विश्वास हुनु स्वाभाविकै हो ।
मरिचमान सिंह श्रेष्ठपछिका सबभन्दा प्रखर महेन्द्रवादी छवि स्थापित गर्न सफल शर्मा ओलीको जुनसुकै दाबीलाई नेपालका अन्ध–राष्ट्रवादीहरू आँखा चिम्लेर पत्याउँछन् । शक्तिको प्रदर्शन यतिविघ्न प्रभावशाली हुने रहेछ कि सामान्यजन पनि सामर्थ्यलाई क्षमताको प्रतीक ठहर्याउन थाल्दछन् । आफ्नो काबिलियत र पात्रताबारे निश्चिन्त रहेकाले शर्मा ओली सायद उमेर र पदावधिको सीमाजस्ता एमालेका वैधानिक प्रावधानहरू मिच्दै पुनः सर्वेसर्वा बन्न चाहन्छन् ।
उनको राजनीतिक महत्त्वाकांक्षालाई अध्यक्ष पदमा सीमित गर्न सकिँदैन— अध्यक्षलाई कार्यसमितिले डोहोर्याउँछ तर सर्वेसर्वाको निर्णयमा दलको कुनै पनि सदस्यले औंलासमेत उठाउन सक्दैन । निहुँ उच्चाध्ययन होस् वा उचित अवसरको खोज, नेपालका सम्भ्रान्त सँगसँगै सामान्यजनसमेत छिटोभन्दा छिटो यस देशबाट बाहिरिन खोजिरहेका त्यतिक्कै होइनन् ।
भविष्यप्रति आस जगाउने क्षमता भएका व्यक्तिहरू नेतृत्व पंक्तिमा उसै पनि छैनन्, सर्वेसर्वा शर्मा ओली नै सर्वोच्च पदमा कायम रहने त्रासले गर्दा सायद अहिलेसम्म वित्त क्षेत्र, गैसस उद्यम र वस्तु व्यापारमा हालीमुहाली कायम राख्न सफल एमालेका कार्यकर्ता र समर्थक पनि बिदेसिने अवसरको खोजीमा लाग्ने छन् । उनले स्पेन गएर बिदेसिएका नेपालीलाई देश फर्किन गरेको
आह्वानको कुनै अर्थ छैन— महाकाली सन्धिताकादेखि नै शर्मा ओलीका परम मित्र रहेका प्रतीक्षारत प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीति सन् १९९० पछि बारम्बार देखेका कुनचाहिँ व्यक्ति फेरि त्यही अनुभव लिन देश फिर्न चाहन्छ होला र ।
यायावरी प्रवृत्ति
आफ्नो स्थिति जेजस्तो भए पनि गाउँठाउँमै बाँधिएर बस्ने धारणा मानवीय चित्तवृत्तिसँग मेल खाँदैन । जनावरहरू घरपालुवा बनाइनुभन्दा धेरै अगाडि आदिमानव अफ्रिकाबाट निस्किएर दुई खुट्टाको भरमा संसारभर फैलिएका थिए । गाई धपाउँदै होस् वा घोडा चढेर आदिम हतियार नचाउँदै, आर्यहरू मध्य एसियाबाट सिन्धु, सरस्वती, यमुना र गंगा नदीका मैदान हुँदै दक्षिण एसिया ढाकेका हुन् भन्ने कुरा विभिन्न अनुसन्धान सँगसँगै प्राज्ञिक अध्ययनले सावित गरिसकेका छन् । आधुनिक अर्थको राष्ट्र वा राज्य त अपेक्षाकृत नयाँ अवधारणा हो ।
सन् १६४८मा हस्ताक्षरित वेस्टफेलियाको सन्धिले प्रतिपादित गरेको सार्वभौमिकताको सिद्धान्तपछि मात्रै राज्यको सर्वोच्चता स्थापित भयो । हरेक राष्ट्रलाई राज्य बन्ने वा रहने अधिकार त झनै एकदम नवीन प्रस्तावना हो । प्रथम विश्वयुद्धको समाप्तिपछि पेरिसको शान्ति सम्मेलनमा अमेरिकाका राष्ट्रपति वुड्रो विल्सनले उस्तै संस्कृति, भाषा, नृजातीयता र ऐतिहासिक परम्परा राख्ने र स्पष्ट भौगोलिक क्षेत्रभित्र बसोबास गर्नेहरूलाई आफ्नो छुट्टै राष्ट्र निर्माण गर्ने अधिकार हुनुपर्ने धारणा राखेपछि समसामयिक विश्वका अधिकांश राज्य अस्तित्वमा आएका हुन् । सुरक्षा, अवसर वा अनुभव हासिल गर्न भौंतारिनु हरेक जीवको अन्तर्निहित चरित्र हो— अहिले प्रचलनबाट हराउँदै गएको एउटा पुरानो नेपाली प्रश्न ‘ढुंगो हो र एकै ठाउँमा बसिरहनलाई’ सायद शर्मा ओलीकै हकमा पनि लागू हुन्छ ।
भारतीय आमवृतका मूर्धन्य शब्दकर्मी एवं स्वराभ्यासी मृणाल पाण्डेका अनुसार कुमाउँ–गढवालका ब्राह्मणहरूको इतिहास खासै पुरानो छैन । तल्लो हिमालय पर्वत शृंखला भनिने महाभारत पहाडका अन्य क्षेत्रहरूजस्तै कुमाउँ–गढवालतिर पनि मुख्यतः खस, भुटिया र सौकाजस्ता आदिवासीहरूको बसोबास थियो ।
गंगा मैदानको उथलपुथलबाट उम्केर शान्तिको खोजीमा हिमाल उक्लेका ऋषिमुनिहरूले तीर्थस्थल पहिचान गरेपछि ब्राह्मणहरू चारधाम गर्न थालेको पनि बुद्ध धर्मको प्रभाव संकुचित हुँदै गएपछि मात्रै हो । अहिलेको राजस्थान, मध्यप्रदेश, गुजरात र मध्यप्रदेशबाट युद्धमा हारेका क्षेत्रीय लडाकाहरू भागेर कुमाउँ–गढवालतिर स–साना गढ र कोत बनाएर शासन गर्न थालेको त एक हजार वर्ष पनि भएको छैन ।
तीमध्ये कतिपयले आफ्ना सन्तानलाई देवभाषा सिकाउनका लागि तीर्थाटन गर्न आउने केही ब्राह्मणहरूलाई दुई–चार गाउँको आम्दानी तोकेर गढ र कोतभित्र बास दिन थाले । अहिले कुमाई भनिने ब्राह्मणहरूमा भट्टहरू गुजरातका थिए । जोशीहरूको मूल थलो महाराष्ट्र रहेको हुन सक्दछ । पन्त कर्णाटक–महाराष्ट्रको तटीय क्षेत्रका कोंकनस्थ ब्राह्मण थिए । तिवारी सरयुपारी रहेका होलान् ।
पण्डाबाट पाण्डे बन्न पुगेकाहरू विभिन्न तीर्थस्थलबाट धपाइएका हुन सक्दछन् । पढ्ने, पढाउने र पुरेत्याइँ छाडेर कृषिकर्म, पशुपालन, बन्दव्यापार वा साहुकारी (मनिलेन्डिङ) व्यवसायमा लागे पनि ब्राह्मणहरू वैश्य वर्णमा झर्दैनन् । सम्पत्तिलाई फारसी मूलको उर्दुमा ‘सरमाया’ भन्छन् । सम्पत्ति जोड्ने जुनसुकै ब्राह्मण सरमाया हुँदै ‘शर्मा’ ठहरिएको हुनु पर्दछ । कुमाईं मात्र होइन, पूर्वीया भनिने यमुना र गण्डकबीच मूल थलो भएका पहाडी बाहुनहरूको संस्कृति पनि फिरन्ते नै हो । पहाडी बाहुनहरू मैथिल वा तमिल ब्राह्मणहरू जसरी हजारौं वर्षदेखि एउटै थातथलोमा अडेर बसेका समुदाय होइनन् ।
कुमाईहरूमा पनि महाकाली नदी छेउछाउका ‘कालीकुमाउ’ क्षेत्रका बासिन्दाहरू अपेक्षाकृत पिछडिएका मानिन्थे । पढेलेखेका ब्राह्मण चारधाम मार्गवरिपरि बस्थे, अलिअलि कर्मकाण्ड जानेकाहरू काली तरेर चन्द राजाहरूको ओत लाग्थे । अवसरका खोजीमा कालीकुमाउबाट पूर्व हान्निएर शर्मा ओलीका पुर्खा लिम्बूवान, खम्बूवान हुँदै थरूवान् र कोच–राजवंशीको क्षेत्रमा बसाइँ सर्दै गएका होलान् । अहिले उनी नेवाः थलोमा छन् ।
कालीकुमाउप्रति शर्मा ओलीको लगाव स्वाभाविक हो तर उनी आफ्ना पुर्खाहरूको भूमिको मायाले फर्केर कालापानी, लिपुलेक र लिम्पियाधुराको विकास गर्न जान सक्दैनन् । लिम्बूवान–खम्बूवान तिर जन्मेर थरूवान्–कोचतिर हुर्केकाले गर्दा उनले करदाताको अरबौं खर्चेर आफ्नो निर्वाचन क्षेत्रमा ‘भ्यु टावर’ बनाउन लगाएका होलान् । उनको बालकोट दरबार भने भक्तपुरतिर छ । बिदेसिएका नेपालीहरूमध्ये फर्केर देश आउने इच्छा त्यति मात्र हुन्छ, जति उनमा तेह्रथुमको आठराईतिर सेवानिवृत्त जीवन बिताउने चाहना बाँकी छ ।
उनी हेलिकोप्टर चढेर जन्मदिन मनाउन आठराई जान्छन्, पश्चिमा मुलुकहरूमा सफल भएका सांस्कृतिक नेपालीहरू दसैं–तिहारको छेको पारेर गैरआवासीय नेपालीहरूको वार्षिक सम्मेलनमा भाग लिने गरी काठमाडौं आउँछन् । स्थायी बसोबास कठिन हुने रूस, चीन, कोरिया, जापान, पश्चिम एसिया वा अफ्रिकाका देशहरूमा सम्पत्ति जोडेकाहरूबाहेक बिदेसिएका नेपालीहरू
आफ्ना गृहदेशको अर्थ–राजनीतिक अवस्थाप्रति आश्वस्त हुन नसकेकाले उल्लेख्य लगानी पनि गर्दैनन् । ती जहाँ छन्, तिनलाई त्यहीँ रमाउन दिइनुपर्छ । मनोवैज्ञानिक दोहनले कसैको भलो गर्दैन । विप्रेषण प्रवाह देश सम्झेर होइन, पछाडि छुटेको परिवारका लागि हुने गर्दछ । दोस्रो पुस्तामा पुगेपछि त्यो धागो पनि टुट्नेछ ।
बाहिरिने बाध्यता
आप्रवासनका अध्येताहरू मूल देशको जर्जर आर्थिक अवस्था एवं रोजगारीका अवसरको सीमितताजस्ता घचेट्ने तत्त्व (पुस फ्याक्टर) एवं लक्षित देशको विकास र जीवनशैलीको लोभ्याउने शक्ति (पुल फ्याक्टर) बारे बृहत् विवेचना गर्ने गर्दछन् । गाउँबाट सहर र सहरबाट महानगरतिर बसाइँ सर्ने प्रवृत्तिमा आधारित त्यस्ता व्याख्याहरूले बिनाप्रवेषाज्ञा र बेगर राहदानी अछामबाट कोच्ची जाने ज्यालादारलाई समेट्छ ।
मिटरब्याजीसँग ऋण लिएर पश्चिम एसिया हानिने कामदारहरू पनि गरिबीको दुश्चक्रबाट नै उम्कन खोजेका हुन् । तर बाबुआमाको जीवनभरको कमाइ सकाएर अस्ट्रेलिया, काठमाडौंको घर बेचेर क्यानाडा वा लाखौं खर्चेर चोर बाटोबाट युरोप र अमेरिका छिर्नेका बाध्यताहरू भने फरक प्रकृतिका हुने गर्दछन् । बलिया पाखुरा, मजबुत तिघ्रा र अदम्य आँट भएका अदक्ष कामदारलाई विदेशी फौजमा भर्तीका लागि राज्यकै सक्रियतामा निर्यात गर्ने चलन नेपालका लागि नयाँ होइन ।
मध्यम वर्ग पैतालाले आफ्नो मत जनाउँदै हुलका हुल बाहिरिन थालेको भने सन् १९९० पछि हतारमा लागू गरिएको शिक्षा र स्वास्थ्य क्षेत्रको चर्को व्यापारीकरणले गर्दा हो । औसत नेपालीको वार्षिक आय र बजारले असुल गर्ने शिक्षा र स्वास्थ्य सेवाको मूल्यका बीच कुनै तालमेल छैन । दक्ष चिकित्सक बन्न गरिएको लगानी नेपालभित्र काम गरेर उठाउन लगभग असम्भव छ ।
नयाँ इन्जिनियरको औसत मासिक तलब उसैले काम लगाउनुपर्ने डकर्मी, सिकर्मी, बिजुली वा धारा मिस्त्रीको कमाइभन्दा कम छ । सबभन्दा बढी वेतन पाउने पर्यटन, बैंकिङ र बिमा व्यवसायका कर्मचारीहरू पनि इमानदारीको कमाइले सहरी क्षेत्रमा घरजग्गा जोड्न सक्दैनन् । सच्चा पेसाकर्मीहरूलाई आफ्नो दक्षतामा विश्वास हुन्छ र तिनलाई झोले हुनुमा गर्व होइन, ग्लानि हुन्छ । स्वाभाविक हो, श्रमको उचित मूल्य र आत्मसम्मानको कदर नहुने देशबाट ती यथाशक्य छिटो बाहिरिन हतारिएका हुन्छन् ।
व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकायहरू सँगसँगै मिडिया र नागरिक अग्रसरतासमेत दुष्क्रियाशील भई रहेको अवस्थामा कोसँग आस र कसको विश्वासमा देशभित्र बस्ने भन्ने सचेत युवाहरूको प्रश्न अस्वाभाविक लाग्दैन । मधेशी युवाहरूको विवशता त झनै हतोत्साहित गर्ने रहेछ— जहाँ गए पनि दोस्रो श्रेणीको नागरिक न हुने हो, नेपालमा त खसआर्य र पहाडी जनजातिपछि मधेशी तेस्रो दर्जाका हुन् ।
मर्नुभन्दा जोगी हुनु बेस भन्थे, त्यसभन्दा बरू बिदेसिनु निको भन्नेबाहेक अरू उत्तर प्रश्नकर्ता युवाहरूलाई अहिले अघोर आशावादीले पनि दिन सक्ने अवस्था छैन । गहिरिँदै गएको अँध्यारोमा बर्तोल्त ब्रेख्तलाई सम्झिँदै अँध्यारोको गीत गाउनुको विकल्प पनि त छैन ।